मेयर आचार्यको निर्देशनपछि दर्जनौँ छाडा पशुचौपाय नियन्त्रण

पशुको धनीलाई कारबाही गरिने

पोखरा । पोखरा महानगरपालिकाको मुख्य सहरी क्षेत्रमा बेवारिसे अवस्थामा रहेका ५० बढी छाडा पशुचौपाय गौशाला लगिएको छ ।

महानगरको बगर, चिप्लेढुंगा, महेन्द्रपुल, पृथ्वीचोक, सृजनाचोक, जिरो, छोरेपाटन, विरौटा, लेखनाथ लगायतका क्षेत्रमा रहेका ५० बढी छाडा गाई गोरु र बाच्छाबाच्छीलाई महानगरीय प्रहरी बलको सहयोगमा गौशाला लगिएको हो ।

पोखरा महानगरपालिकाको सहयोग तथा राष्ट्रिय परोपकार महासङ्घको व्यवस्थापनमा पोखरा महानगरपालिका वडा नं.१४ बाच्छीबुडुवा (वात्स्यायन क्षेत्र) मा सञ्चालित पुष्करिणी परोपकार गोकुल धाममा पोखराको नगर क्षेत्रमा रहेका छाडा पशु चौपायलाई व्यवस्थापन गर्ने गरिएको छ ।

पोखरामा जथाभाबी रूपमा छोडिएका पशुचौपायका कारण सडक सुरक्षामा चुनौती थपिएको, नगरका डिभाइडर तथा पार्कमा लगाइएका फूल तथा बिरुवा खाइदिने, फुटपाथमा पैदलयात्रीलाई आक्रमण गर्ने लगायत समस्या देखिएपछि नगरप्रमुख धनराज आचार्यको निर्देशनमा विशेष अपरेसन नै चलाएर ती पशुको सङ्कलन तथा व्यवस्थापन गरिएको महानगरीय प्रहरी बलका प्रमुख इन्स्पेक्टर पुरुषोत्तम थापाले बताए ।

पशुपालन व्यवसाय गरिरहेका कतिपय नगरवासीको असावधानीका कारण सिंगो महानगरपालिकाले समस्या झेल्नु परेको उनको गुनासो छ । आर्जन हुन्जेल खाने तर बुढो वा थाक्न थालेपछि सडकमा छोड्ने मानिसको अमानवीय कार्यले सडक सुरक्षामा चुनौती थपिएको प्रहरी प्रमुख थापाले बताए ।

‘हामीले आजदेखि विशेष अभियान थालेका छौँ’, थापाले भने, ‘अब सडकमा आउने पशुचौपायको धनीको पहिचान गर्ने र कारबाहीको दायरामा ल्याउने हाम्रो प्रयत्न रहन्छ ।’ छाडा पशुको धनी पत्ता लाग्ने बित्तिकै कारबाही गर्ने र फेरी फेरी यस्तो अमानवीय कार्य नगर्ने स्थितिमा पुर्याउने उनले बताए ।

सहरी सौन्दर्यीकरणको बाधकको रूपमा देखापरेको छाडा पशुचौपायको समस्या समाधानका लागि महानगरपालिका निरन्तर लागिरहेको भए पनि पशुपालन कृषक वा व्यवसायीको लापरबाहीका कारण आफूहरू पटकपटक आलोचित हुनुपरेको नगरप्रमुख धनराज आचार्यले बताए ।

‘हामीले दैनिकजसो सडकमा देखिने चौपायलाई सङ्कलन र नियन्त्रण गरी गौशाला लैजाने गरेका छौँ’, तर पनि समस्या जस्ताको तस्तै देखिन्छ’, उनले भने, ‘यो त अति भयो, यो हद भन्दा बढी भयो, यहाँ हरेक कुराको सीमा हुन्छ, अटेर गर्ने र आफ्नो भकारोको पशु फुकाएर विभिन्न वाहनामा सडकमा छोड्नेहरू अब कारबाहीको दायरामा आउँछन्, आउनुपर्छ ।’

आचार्यले थपे, ‘नगर बनाउने दायित्व सरकारको मात्र होइन, यो नागरिकको कर्तव्यसँग पनि जोडिने विषय हो ।’

छाडा पशुको धनी पहिचान गर्ने र तत्काल कारबाहीको प्रक्रिया अघि बढाउने उनले चेतावनी दिए । ‘यदि कुनै पनि पशुको धनी पहिचान भई जरिवाना वा कुनै पनि प्रकारको कारबाहीको भागीदार हुनपर्याे भने त्यो उसका लागि लज्जाको विषय हुनेछ, मानवीय हिसाबले पनि त्यो निन्दाको विषय बन्नेछ’, उनले भने ।

उनले थपे, ‘पूर्वीय सभ्यताले गाईलाई लक्ष्मीको रूपमा माता समान पूज्य मानेको छ, तर यहाँ त हदैसम्मको दुःख भोगोस् भन्ने अभिप्रायले व्यस्त सडकको बिचमा छोडिन्छ, के यही हो मानवता ?, पशु प्रतिको प्रेम र ममतामा यस्तै हुन्छ ?, हुदैन्, अवोध पशु माथि अमानवीय व्यवहार देखाई मानिस पशु बन्न सक्दैन ।’

घरपालुवा पशुलाई प्रेमपूर्वक लालन पालन गर्न उनले आग्रह गरे । यदि समस्या नै भयो भने महानगरपालिकामा सम्पर्क गरी सुरक्षितरूपमा गौशालासम्म पुर्याउने कार्यमा सहजीकरण गरिदिन अनुरोध पनि गरे ।

हाल गौशालामा चार सय बढी चौपायलाई व्यवस्थापन गरिएको छ । गौशाला सञ्चालनका लागि थुप्रै चुनौती भए पनि राष्ट्रिय परोपकार महासङ्घ नेपालका संस्थापक भागवत भाष्कर युवा पण्डित कमलनयन गौतमले यसको व्यवस्थापन गरिरहेका छन् । गौतम कै संरक्षकत्वमा गौशालामा आश्रित चारसय पशुले सन्तोषको जीवन जिइरहेका छन् । उनीहरूलाई दाना र पानीको व्यवस्था गौशालामा गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button