पोखराको अर्घौं कालिका भगवती मन्दिरमा महाकालीको मूर्ति समर्पण

पोखरा । पोखरा महानगरपालिका वडा नं. २८ स्थित कालिका भगवती मन्दिरमा धार्मिक अनुष्ठान सञ्चालन एवं रथयात्रासहित महाकालीको मूर्ति समर्पण गरिएको छ । प्रसिद्ध अर्घौं मौलाकालिका भगवती मन्दिर संरक्षण समितिले श्रीराम जयन्ती अवसरमा मंगलबार सो कार्यक्रम गरेको हो ।

महाकाली भगवतीको मूर्ति रथमा सजाएर भजनकीर्तनसहित कालिका, लेखनाथ र माझठाना क्षेत्र, अर्घौं मौलाकालिका धार्मिक क्षेत्र तथा छिमेकी स्थानमा धार्मिक अनुष्ठान सञ्चालन एवं रथयात्रासहित मूर्ति समर्पण गरिएको हो ।

रथयात्रा मंगलबार बिहान ८ बजे कालिका मन्दिरबाट सुरु भई लेखनाथका विभिन्न स्थान नरेशपुर, जलधारे, सिलिंगे, विजयपुर, कालिकाचोक, बूढीबजार, खरानेफाँट खोलाको डिल, बहिरा स्कुल, लेखनाथचोक, रिठ्ठेपानी कुमाल गाउँ, तालचोक, खुदी हुँदै यहाँबाट खुदी, बेगनासताल, शिशुवा शिवमन्दिर, आरुपाटा, सैरे, ठूलाकोट हुँदै पुनः कालिका मन्दिर आएको थियो । रथयात्रामा भजनकीर्तन साथ मन्दिर प्रवेश गरी प्राणप्रतिष्ठासहित महाकालीको मूर्ति कालिका भगवती मन्दिरमा समर्पण गरिएको हो ।

मुर्ति पदस्थापन गर्दै कार्यक्रम संयोजक एवं समिति कोषाध्यक्ष सरोज भण्डारीले करिब ३ सय वर्ष पहिलादेखि श्रदा भक्तिपूर्वक पूजा गरिँदै आएको सो मन्दिरमा पूजाआजा गर्नाले आरोग्यता, पारिवारिक शान्ति पूरा हुने विश्वास छ । उनले भगवतीको मूर्ति बेनीको कालीनदीबाट एउटा ढुंगालाई भगवतीको स्वरुपमा बनाई मूर्ति समर्पण गरिएको बताए ।

अर्घौ कालिका एक शक्तिपीठ हो । दुर्गाको उपासना गरिने यस मन्दिरमा दैनिक बिहान बेलुका पञ्चोपचार विधिबाट पूजा सञ्चालन हुने गर्दछ । शनिबार मंगलबार विशेष पूजा हुन्छ । कालिका मन्दिरमा आस्था राख्ने भक्तजनमा भाकलसहितको बलिपूजा गर्ने चलन र परेवा उडाउने परम्परा पनि छ ।

वर्षको २ पटक चैत र असोजमा १०८ सप्तचण्डकीको पूजा हुन्छ भने गाउँमा कुनै रोगव्याधि नलागोस्, प्राकृतिक विपत्ति नपरोस् धानबाली राम्रोहोस् भन्ने कामनाका साथ यो पूजा गर्ने चलन रहिआएको स्थानीयको भनाइ छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button