हेमजा आलु महोत्सवमा तीन करोड ७५ लाखको कारोबार

पोखरा । करिब तीन करोड ७५ लाखको कारोबार गर्दै राष्ट्रिय हेमजा आलु महोत्सव सकिएको छ । पोखरा-२५ हेमजास्थित विष्णुपादुका क्लबद्वारा आयोजित महोत्सव ११ दिनसम्म सञ्चालन भएको थियो ।

महोत्सव मूल आयोजक समिति महासचिव वसन्तकुमार श्रेष्ठका अनुसार आलु मात्रै ३० लाख ६५ हजार रुपैयाँ बराबरको कारोबार भयो भने ७५ हजार दर्शकले अवलोकन गरे । श्रेष्ठका अनुसार तीन हजार चार सय ४५ घरपरिवारले आलु खरिद गरे ।

कृषि उपज व्यवस्थापन समिति संयोजक जयराम तिम्सिनाका अनुसार प्रतिकेजी ४० रुपैयाँमा आलुको किनबेच भएको थियो ।

कास्की, गोरखा, म्याग्दी, मुस्ताङ, स्याङ्जा, चितवन, बुटबल, बागलुङ, तनहुँ, काठमाडौंवासी समेत महोत्सवमा आलु खरिद गर्न आएको आयोजकको दावी छ ।

साथै प्रतिघरपरिवारले न्यूनतम पाँच किलोदेखि अधिकतम् तीन सय किलोसम्म आलु खरिद गरी लगेका छन् । हेमजामा फलेको आलु स्वादिलो, छिटो पाक्ने तथा स्वस्थ्यकर मानिँदै आएको छ ।

हेमजाको कुल १२ हजार पाँच सय हेक्टर क्षेत्रफलमध्ये पाँच सय हेक्टरमा यो खेती गरिंदै आइएको छ । जसअन्तर्गत पाँच सय ४० घरपरिवार किसान व्यवसायिक रुपमा आलु खेतीमा आवद्ध छन् ।

महोत्सव समापनमा आलु प्रदर्शनीमा उत्कृष्टता हासिल गर्ने अग्रज कृषकलाई नगदसहित सम्मान गरिएको छ । जसमा भीममाया नेपाली, एकबहादुर कार्की, पार्वती बानियाँ, हरिमाया रोका तथा कृषि अधिकृत चन्द्रकान्त तिमिल्सिना छन् ।

कार्यक्रममा पोखरा महानगरका प्रवक्ता एवं वडाध्यक्ष मोतिलाल तिमिल्सिनाले नगर परिषद्ले महोत्सव व्यवस्थापनका लागि १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको बताए ।

आलु महोत्सव किसानको चाड भएको उल्लेख गर्दै उनले सबै हेमजावासी खटेर महोत्सव सफल भएको दावी गरे । महोत्सवकै अवसरमा क्लबको बहुउद्देश्यीय भवन शिलान्यास हुनु अर्को खुसीको भएको उनले बताए ।

विष्णुपादुका माविका प्रधानाध्यापक दीपकराज पौडेलले छोटो समयको तयारीमा सबैको सहयोगबाट महोत्सव सफल भएको दावी गरे । उनले हेमजाको उत्पादनको बजारीकरण व्यवस्थाका लागि महानगरको ध्यानाकर्षण गराए । उनले हेमजाको जमिन तथा नहरको क्षयीकरण हुँदै जानु दुःखद् भएको गुनासोसमेत गरे ।

क्लबका पूर्व अध्यक्ष महेन्द्रसिंह थापाले आलु महोत्सवमार्फत कृषिलाई सम्मानित पेसाका रुपमा अगाडि सार्न खोजिएको बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button