युनाइटेड क्लबद्वारा पोखरा आरोग्य आश्रममा खाद्यान्न सहयोग

पोखरा । युनाइटेड क्लब पोखराले १४ औं वार्षिकोत्सवको अवसरमा पोखरा-१५ टुटुंगास्थित पोखरा आरोग्य आश्रममा खाद्यान्न सामग्री वितरण गरेको छ । पोखरा-१५ का वडाध्यक्ष तोरण बानियाको उपस्थितिमा खाद्यान्न सामग्री वितरण गरिएको हो ।

सो अवसरमा वडाध्यक्ष बानियाले युनाइटेड क्लबको सामाजिक कार्यलाई लक्षित गरी आगामी आर्थिक वर्षदेखि वडाले रातो किताबमा समेटेर बजेट बिनियोजन गर्ने प्रतिवद्धता जनाए ।

पछिल्लो समय कुष्ठरोगीको संख्या बढ्दै गएको र आफ्नो वडामा समेत चार जनामा कुष्ठरोग देखा परेकाले यसको बारेमा जनचेतना फैल्याउन आवश्यक रहेको उनले बताए ।

नेपाल कुष्ठरोग निवारण संघका केन्द्रीय उपाध्यक्ष नारायण शर्माले युनाइटेड क्लबले महोत्सव गरेर बचत भएको रकम सामाजिक सेवामा खर्चिनु अत्यन्तै सराहनीय भएको बताए ।

कुष्ठरोग निवारण संघ कास्कीका अध्यक्ष सुभास तझ्याले पोखरा आरोग्य आश्रम १३ जना आश्रित रहेको बताए । उनले दाताको सहयोगबाट नै आश्रम सञ्चालन भइरहेको स्पष्ट पारे ।

संघको संयोजनमा कुष्ठ प्रभावितलाई लक्षित गरी पोखराको लामतरामा १८ र ठूलीमझुवामा १२ परिवारलाई बासस्थानको व्यवस्था मिलाएको छ । उनीहरुको भत्ताबाहेक सरकारबाट केही नपाएको उनको गुनासो छ । हाल १८ जना कुष्ठप्रभावित विद्यार्थीले छात्रवृत्तिबाट अध्ययन गरिरहेका छन् ।

कार्यसमिति सदस्य तथा खाद्यान्न वितरण कार्यक्रम संयोजक पूर्णकुमार श्रेष्ठले क्लबले बैशाख १ देखि सप्ताहव्यापी कार्यक्रम गर्दै आइरहेको र छैठौं दिन पोखर आरोग्य आश्रममा सहयोग गर्न आइपुगेको बताए ।

क्लब अध्यक्ष राजु श्रेष्ठले सेती नदी संरक्षणका लागि रकम छुट्याउँदै आएको र सेती नदीसँग जोडिएका वडासँंग सहकार्य गरेर सेती नदीमा साहसिक पर्यटकीय गन्तब्य बनाइने जानकारी दिए ।

सो अवसरमा क्लबका वरिष्ठ उपाध्यक्ष लोकबहादुर थापाले स्वागत र कार्यक्रम सञ्चालन महासचिव दिनेश सुनारले गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button