पोखराका संरक्षणकर्मी सुनिल उलक सम्मानित

पोखरा । पोखराका संरक्षणकर्मी सुनिल उलक सम्मानित भएका छन् । नागरिक समाज कास्कीले सम्पदा संरक्षण सम्मानबाट उलकलाई सम्मान गरेको हो ।

उनलाई पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले सम्मान गरेका हुन् ।

सो अवसरमा महानगर प्रमुख आचार्यले पोखराको मौलिकता र प्राचीन सम्पदा जोगाउन पोखरा महानगर तयार रहेको बताए । उनले सम्मानित व्यक्तित्व उलक नेपालको सम्पत्ति भएको चर्चा गरे ।

प्रमुख आचार्यले सम्पदा संरक्षण दिवस अवसरमा संरक्षणकै लागि महत्वपूर्ण योगदान दिएको व्यक्तिलाई सम्मान गरेकामा आयोजक संस्थालाई धन्यवाद दिए ।

उनले पोखरा सिद्धार्थचोकदेखि विन्ध्यवासिनी क्षेत्रलाई पुरानो पोखरा र सभ्यताको झल्को दिनेगरी क्षेत्रको विकास गरिने बताए । दिगो पर्यटन विकासका लागि एडिबीसँग साढे सात अर्बको परियोजनाको काममा उक्त क्षेत्र पनि समेटिएको उनले बताए ।

‘यो क्षेत्रलाई नो भेइकल जोन घोषणा गरिनेछ । परियोजनाले पूर्णता पाउँदा त्यहाँ सवारी निषेध गरिनेछ,’ उनले भने, ‘बाटामा पुरै ढुंगा छापिएका हुनेछन् । घरहरुको अग्रभागलाई परम्परागत शैलीमा ढालिनेछ ।’

पर्यटनको राजधानी रहेको यो क्षेत्र ऐतिहासिक पृष्ठभूमिको महत्वपूर्ण हव हुने उनले बताए । रैथाने खानाका परिकार पस्कनेस्थल बनाउनुपर्ने उनको भनाइ थियो ।

पुरानो भेषभूषाको प्रदर्शनी गरिनुका साथै पोखराको घुम्नैपर्ने सूचीमा समावेश गर्ने, मौलिक र सांस्कृतिक जात्राहरुको सके दैनिक नभए निश्चित दिन तोकेर प्रदर्शन गरिने उनले सुनाए । उक्त स्थल भोलिका दिनमा पर्यटकीय चहलपहलयुक्त बन्ने र व्यावसायिक दृष्टिकोणले समेत महत्वपूर्ण हुने उनको विश्वास छ ।

सम्मानित उलकले सम्मानले ऊर्जा मिलेको भन्दै आफ्नो कामलाई निरन्तरता दिने बताए ।

संस्थाका संस्थापक अध्यक्ष तथा सम्मान छनोट समिति संयोजक रामबहादुर पौडेलले पोखराका पुराना धारा, मठ/मन्दिर, पाटी/पौवा, गुम्बा, मस्जिद, चौतारा, पाटनरचौर लगायत बजारका बारेमा अन्वेषण तथा अभिलेखीकरण गर्नुका साथै ऐतिहासिक बालधारा संरक्षण एवं पुनर्निर्माणमा विशेष योगदान पुर्याएकामा उलकलाई सम्मान गरिएको बताए ।

छनोट समिति दुर्गाकुमारी शर्मा, शोभा श्रेष्ठ, सदस्य थिए । पदेनसदस्यमा नागरिक समाज पोखराका संयोजक नरेन्द्र लालचन र प्रवक्ता गोकुलबहादुर कार्की थिए ।

नागरिक समाज पोखराका पूर्वसंयोजक विष्णुहरि अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा-४ का वडाध्यक्ष देवकृष्ण पराजुली, पोखरा-१ का वडाध्यक्ष सहारा प्रधान, प्रदेश संग्रहालय पोखराका प्रमुख करुणा राई र पोखरा पर्यटन परिषद् अध्यक्ष पोमनारायण श्रेष्ठ लगायतले पोखराको पुरानो बजार जोगाउन सबै एकजुट हुनुपर्नेमा जोड दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button