आज छन्द दिवस मनाइँदै

पोखरा । छन्द बचाऊँ अभियान-२०५३ का नायक माधव वियोगीले साहित्यकार एवं वाङ्मयसेवीका लागि मात्र नभएर सम्पूर्ण सर्वसाधारणका लागि पनि छन्द दिवस एक महोत्सव भएको बताएका छन् ।

छन्द दिवस अवसरमा विज्ञप्ति जारी गर्दै उनले छन्दले सभ्यता र संस्कृतिको समेत प्रतिनिधित्व गर्ने बताए । नेपाली कवितामा छन्द प्रयोगको अवस्था अत्यन्त कमजोर भएको अवस्थामा बृहत्तर आन्दोलनको आवश्यकता महसूस गरी आफूले पोखराबाट राष्ट्रव्यापी आन्दोलनका रूपमा यो अभियान सञ्चालन गरेको उनले स्मरण गरे ।

अभियान सञ्चालनपछि छन्दवादी र छन्दप्रेमीले संस्था खोल्न थालेका छन् । छन्द प्रशिक्षण दिने र गोष्ठी गर्ने लगायतका कार्यक्रम भइरहेका छन् । छन्दको पुनर्जागरण विश्वव्यापी रूपमा हुन थालेको छ । पञ्चांग निर्णायक समितिले समेत २०६७ वैशाख ८ लाई छन्द दिवस घोषणा गरेको छ ।

‘हामी छन्दवादी र छन्दका शुभचिन्तकका लागि एउटा महान् उपलब्धि छन्द दिवस पनि हो । यसलाई पिङ्गल जयन्तीका रूपमा मनाउनु हामी स्रष्टा र संघसंस्थाको कर्तव्य हो,’ वियोगीले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

यो दिवस विश्वव्यापी रूपमा हरेक देशमा मनाउन प्रत्येक देशमा एक छन्द विश्वविद्यालय खोल्न आवश्यक भएको उनले उल्लेख गरे । यका लागि विभिन्न देशका सरकार र साहित्यिक संघसंस्थालाई पत्राचार गरिसकिएको छ । साथै नेपाल सरकारमा समेत आग्रहपत्र प्रेषित भइसकेको उनले जानकारी दिए ।

संयुक्त राष्ट्रसंघलाई बोधार्थ दिई सहयोगका लागि अनुरोध पनि भएको उनले बताए । विज्ञप्तिमा भनिएको छ, ‘छन्द कविता वाचनमा यतिबेला जुन लहर आएको छ, त्यसको सबैभन्दा बढी योगदान रहेको महसुस गरिएको छ भने स्रष्टाको गुणस्तरीय वृद्धि पनि उत्साहप्रद नै छ ।’

हिजो एक अवस्थामा एक्लै आन्दोलन गर्ने परिवेश खडा भएको पनि आज सो आन्दोलन साझा अभियानका रूपमा विकसित भएको उनको निष्कर्ष छ ।

सामाजिक सञ्जालमा चलाइएका विभिन्न नामका समूह, संस्था र प्रशिक्षण कार्यक्रमले आन्दोलन जारी रहेको उनले स्पष्ट पारे ।

उनकाअनुसार गजल, मुक्तक, चारू, गद्यशैलीका कविता लगायतमा प्रशिक्षण चलाएर विकृति हटाई काव्यसंस्कृतिको रक्षा गर्ने एक किसिमको होडबाजी नै चलेको छ ।

छन्दको तात्पर्य राम्रो, सुन्दर, गुणयुक्तता, तथा नियमबद्धता हो भन् सबैले बुझेको अवस्था पनि छ भन्दै छन्द जीवन शैलीका रूपमा विकसित गर्न आफूहरु तत्पर रहेको उनले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button