पोखरा शिशुवा-लमजुङ सिसाघाट सडक स्तरोन्नति हुने, ३४ करोड लागत

पोखरा । विश्व बैंकको आर्थिक सहयोगमा पोखराको शिशुवादेखि लमजुङ सिसाघाटसम्मको सडक स्तरोन्नति हुने भएको छ ।

जसअन्तर्गत पहिलो चरणमा पोखरा-३० को शिशुवादेखि खुदीखोला पुलसम्म करिब चार दशमलव १४ किलोमिटर सडक बन्नेछ ।

सडकको स्टिमेट ४८ करोड ९६ लाख रुपैयाँ रहेकोमा टेन्डरमा जाँदा ३० प्रतिशत कम अर्थात ३४ करोड ११ लाख २० हजार दुई सय ९५ रुपैयाँ रहेको छ । सडकको टेण्डर आशिष निर्माण सेवाले पाएको छ ।

सो सडकमा नालीसहित १५ मिटर डबल लेन, सात मिटर सपोर्ट बाटो, एक दशमलव पाँच मिटर साइकल ट्र्याक र दुई दशमलव पाँच मिटर फुट ट्र्याक रहनेछ ।

निर्माण कम्पनी का प्रतिनिधि इन्जिनियर रोशन गिरीका अनुसार परामर्श दाताको निर्देशन अनुसार स्थानीयको सहयोगमा १४ महिनामा नै काम सम्पन्न हुनेछ ।

उक्त सडक आज पोखरा महानगर प्रमुख धनराज आचार्यले शिलन्यास गरे । सो अवसरमा प्रमुख आचार्यले सडकको गुणस्तरमा ख्याल गर्न आग्रह गरे ।

मेयर आचार्यले विश्व बैंकको सहयोगमा निर्माण हुन लागेको सडक निर्माणमा स्रोतको कुनै कमी नहुने बताए । उनले स्थानीयको साथ र सहयोग रह्यो भने काम समयमा नै सकिने स्पष्ट पारे ।

कार्यक्रममा पोखरा-३० का वडाध्यक्ष दुर्गाप्रसाद सुवेदी, वडा नं. २७ का अध्यक्ष पूर्णकुमार गुरुङ, महानगरका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापा, पोखरा-३० की वडासदस्य उमा परियार, महानगरका इन्जिनियर नेत्रप्रसाद तिमल्सेना, जगन्नाथ कोइराला लगायतले बोलेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button