बन्दीपुरमा मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रम

तनहुँ । बन्दीपुर गाउँपालिकामा ‘मुख्यमन्त्री नवप्रवर्तन’ कार्यक्रम सुरु गरिएको छ । उक्त कार्यक्रम अन्तर्गत पर्यटन प्रवर्द्धनको काम गर्न गण्डकी प्रदेश सरकारले गाउँपालिकालाई परिपत्र गरेको छ ।

‘पहाडकी रानी’ उपनाउँले परिचित यस क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले भौतिक संरचना निर्माण गर्न लागेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले जानकारी दिए ।

गत माघ २६ गते गण्डकी प्रदेश मुख्यमन्त्री कार्यालय पोखरा र गाउँपालिकाबीच सम्झौता भएको थियो । उनले भने, “प्रदेश सरकार र गाउँपालिकाको संयुक्त लगानीमा यस क्षेत्रका पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने गरी काम गर्न लागेका हौँ ।”

मुख्यमन्त्री कार्यालय पोखराबाट रु ७५ लाख र गाउँपालिकाबाट रु २८ लाख ९५ हजार तीन सय गरी कूल एक करोड तीन लाख ९५ हजार तीन सय बजेट विनियोजन गरिएको छ ।

बन्दीपुरको पर्यटन प्रवर्द्धनका लागि नमुना कार्यक्रमअन्तर्गत ‘कल्चर’, ‘एडभेन्चर’ र ‘नेचर’ गरी तीन क्षेत्रमा कार्यक्रम गरिनेछ । उनका अनुसार चालु आर्थिक वर्षको असार १५ गतेभित्र काम सम्पन्न गर्नुपर्नेछ ।

गाउँपालिका-१, २ र ४ मा पर्यटन प्रवर्द्धनका काम गरिनेछ । अध्यक्ष थापाले विशेषगरी बन्दीपुरबाट सिद्धगुफा जाने बाटोमा सिँढी निर्माण कार्यलाई प्राथामिकता दिइएको जानकारी दिए । एसियाकै ठूलो दाबी गरिएको यस गुफा हेर्न स्वदेशी तथा विदेशी पर्यटक आउने गरेका छन् ।

बन्दीपुर क्षेत्रमा सौन्दर्यीकरणका काम गरिनेछ । बन्दीपुर बजार क्षेत्रमा फूलसहितको गमला राखेर सुन्दर र आकर्षण क्षेत्र बनाउने योजना छ ।

‘मुख्यमन्त्री नवप्रवर्तन’ कार्यक्रम अन्तर्गत सत्तल, पाटी पौवा, रकक्लाइम्बिङ निर्माण, डिजिटल डिस्प्ले सञ्चालन, क्षमता विकासका कार्यक्रम सञ्चालन, कलासंस्कृति संरक्षण, पर्यटकीयस्थलको प्रवर्द्धन कार्यक्रम, वृत्तचित्र, सार्वजनिकस्थलमा शौचालय निर्माणलगायतका कार्यक्रम गरिनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button