दोस्रो खेलमा नेपाल पराजित

पोखरा । वेस्टइन्डिज ए ले दोस्रो टी ट्वान्टी खेलमा घरेलु टोली नेपाललाई १० रनले हराएको छ । योसँगै पाँच खेलको टीट्वान्टी सिरिज एक एकको बराबरी अवस्थामा पुगेको छ ।

एक सय ६१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ५० रन बनायो । नेपालका रोहित पौडेलले ४८ बलमा छ चौका र दुई छक्कासहित ७१ रनमा नट आउट रहे ।

गुलशन झा ११ बलमा तीन चौका र दुई छक्ककासहित २६ रन तथा लोकेश बम १६ बलमा एक चौका र दुई छक्कासहित १७ रनमा आउट भए । ओपनर अनिल शाह एक, कुशल मल्ल शून्य, आरिफ शेख १२ र दीपेन्द्रसिंह ऐरी तीन रनमा आउट भए ।

वेस्टइन्डिजका ओबेद म्याककोयले चार ओभरमा २४ रन खर्चेर दुई विकेट लिए । गुडाकेश मोतीले चार ओभरमा २२ रन खर्चेर दुई विकेट लिए । ओशान थोमस र रोस्टन चेशले एक एक विकेट लिए ।

अन्तिम ओभरमा नेपाललाई १७ रन जित्नलाई चाहिँएको थियो । स्ट्राइकमा रोहित पौडेल र बलरमा म्याथ्यु फर्ड थिए । पहिलो बल योर्करमा डट र दोस्रो बल फिल्डरको गल्तीमा स्टेटमा चौका भएको थियो । तेस्रो बलमा आकाश दुई रन लिने धुनमा रन आउट भए ।

चौथो बलमा सागर ढकालले एक रन लिए । त्यसपछि बाँकी दुई बलमा ११ रन चाहिँएको थियो । पाँचौं बलमा रोहितले लङअनमा सट खेलेपनि रन लिएनन् । नेपालको हार पक्का बनेको थियो । अन्तिम बल डट खेले ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको वेस्टइन्डिज ए ले २० ओभरमा सात विकेट गुमाउँदै एक सय ६० रन बनाएको थियो । वेस्टइन्डिजका आन्द्रे फ्लेचरले ३६ बलमा तीन छक्कासहित सर्वाधिक ४३ रनको योगदान दिए ।

स्पिन अलराउन्डर गुडाकेश मोतीले तल्लोक्रममा आठ बलमा दुइ चौका र चार छक्कासहित ३३ रन जोड्दै प्रतिस्पर्धात्मक योगफल तयार पारे । म्याथ्यु फर्ड छ बलमा एक छक्कासहित ११ रनमा नट आउट रहे ।

तेस्रो ओभरमा स्पिनर सागर ढकालले जोनसन चाल्र्सलाई ११ र एलिक एथानाजेलाई छ रनमा आउट गरेका थिए । त्यसपछि कुनैपनि समय वेस्टइन्डिजले आक्रामक क्रिकेट खेल्न सकेका थिएनन् ।

रोश्टन चेश, २२ बलमा दुई चौका र एक छक्कासहित २३, केसी कार्टी १०, किमो पल आठ र हेयडन वाल्स नौ रनमा आउट भए । अन्तिम दुई ओभरमा वेस्टइन्डिजले ४१ रन जोडेको थियो ।

नेपालका स्पिनर सागर ढकालले चार ओभरमा १९ रन खर्चेर दुई विकेट लिए । कुशल भुर्तेलले चार ओभरमा २२ रन खर्चेर दुई विकेट लिए । सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले एक-एक विकेट लिए ।

पाँच खेलको सिरिजमा नेपाल एक-शुन्नाले अघि छ । पहिलो खेलमा नेपाल चार विकेटले विजयी भएको थियो । तेस्रो खेल बुधबार, चौथो खेल बिहीबार र अन्तिम खेल शनिबार हुनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button