सांस्कृतिक कार्यक्रम एवं भजन प्रतियोगिताको तयारी पूरा, आज प्रभातफेरि सम्पन्न

  • पोखरा न्यूज
  • २०८१ बैशाख १८
सांस्कृतिक कार्यक्रम एवं भजन प्रतियोगिताको तयारी पूरा, आज प्रभातफेरि सम्पन्न

पोखरा । पोखरामा ज्येष्ठ नागरिक सरोकार समाज नेपाल कास्कीले आयोजना गरेको त्रिदिवसीय सांस्कृतिक कार्यक्रम एवं भजन प्रतियोगिताको सबै तयारी पूरा भएको छ ।

वैशाख १९, २० र २१ गते हुने कार्यक्रमको अघिल्लो दिन मंगलबार पोखरामा प्रभातफेरि आयोजना गरिएको छ ।

बाजागाजा र भजन कीर्तनसहित चिप्लेढुंगाबाट सुरु भएको प्रभातफेरि पोखरा सभागृहमा पुगेर समापन भएको थियो । प्रभातफेरिमा सिन्धुली कलाघरका कलाकारले पञ्चेबाजाको प्रस्तुति राखेका थिए ।

भजन र आमा समूह गरी ३५ समूह ब्यानर र पहिचान झल्कने पोशाक र भजनकीर्तन, झाँकीसहित प्रभातफेरिमा सहभागी थिए ।
बुधबार बिहान ११ बने पोखरा महानगर प्रमुख धनराज आचार्यले कार्यक्रम उद्घाटन गर्नेछन् ।

संयोजक अधिवक्ता दुर्गाप्रसाद कोइरालाका अनुसार कार्यक्रममा हिमाली साँस्कृतिक परिवार पोखराले सहकार्य गरेको छ ।
कार्यक्रममा ईन्द्रेणी परिवार, सिन्धुली कलाघरसहितका राष्ट्रिय कलाकारको प्रस्तुति रहनेछ ।

कार्यक्रमको सबै तयारी पूरा भएको संस्थाका अध्यक्ष भक्तराज श्रेष्ठले जानकारी दिए ।

ज्येष्ठ नागरिकका लागि आवश्यक स्वास्थ्य सुविधा, मनोरञ्जन, धार्मिक एवं आध्यात्मिक चिन्तनका लागि आवश्यक भौतिक संरचना निर्माण, देश विदेशबाट आउने तीर्थयात्री तथा धर्मालम्बीका निम्ति आवश्यक भौतिक संरचना निर्माण, संस्थाको कार्यालय परिसर भित्र भगवान शिव, बुद्ध तथा देवीदेवताको प्रतिमा स्थापना, नेपाली लोकभजन कीर्तनको संरक्षण र संबर्द्धन गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको उनले बताए ।

मूल समिति सदस्य प्रजापति पराजुलीले ज्येष्ठ नागरिक साक्षात् भगवानको रुप भएका कारण उनीको सेवा प्रदान गर्न उद्देश्यले कार्यक्रम गर्न लागिएको बताए ।

पराजुलीले उमेरले ८४ वर्ष पुगे पनि ज्येष्ठ नागरिकका निम्ति केही गर्नुपर्छ भन्ने हुटहुटीका साथ संस्थाका अध्यक्ष श्रेष्ठले सबैमा उत्साह थप्ने काम गरेको भन्दै प्रशंसा गरे ।

संस्थाका महासचिव महासचिव विष्णुप्रसाद पौडेलका अनुसार कार्यक्रम सम्पन्न गर्न १२ लाख लाग्ने र ३५ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखिएको छ ।

कार्यक्रमका लागि कोइराला संयोजक, भागवत भाष्कर कमल नयन गौतम, प्राज्ञ हरिदेवी कोइराला, प्रजापति पराजुली र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्वअध्यक्ष पुरुषोत्तम न्यौपाने सदस्य छन् ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस