कास्कीको याङ्जाकोटमा बुद्ध जयन्ती मेला

पोखरा । कास्कीको मादी गाउँपालिका वडा नं. ३ याङ्जाकोटमा बुद्धजयन्ती मेला हुने भएको छ । याङ्जाकोट मिलन युवा क्लबको आयोजनामा जेठको दोस्रो हप्तामा मेला गर्न लागिएको बुधबार पोखरामा पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।

२५६८ औं बुद्ध जयन्तीको अवसरमा जेठ ८ देखि १० गतेसम्म मेला आयोजना गर्न लागिएको क्लबका अध्यक्ष योगेन्द्र गुरुङले जानकारी दिए । याङ्जाकोटको पर्यटन प्रवर्द्धन, संस्कृति संरक्षण र युवालाई खेलकुदमार्फत रचनात्मक कार्यमा लगाउने उद्देश्यले मेला गर्न लागिएको उनले बताए ।

मेलामा विभिन्न खेलकुद गतिविधिसहित साँस्कृतिक कार्यक्रम समावेश गरिएको उनले सुनाए । ‘हामीले २५६८औं बुद्धजयन्तीको अवसरमा वैशाख पूर्णिमा मेला आयोजना गर्न लागेका हौं,’ उनले भने, ‘यस मेलाले मादी गाउँपालिका र याङ्जाकोटको पर्यटन क्षेत्रमा सहयोग पुग्ने आशा राखेका छौं ।’

उनका अनुसार मेलामा साँस्कृतिक कार्यक्रम, ठेलो, भलिबल, कुर्चि खेललगायत प्रतियोगिता हुनेछ । भलिबल प्रतियोगितामा प्रथम हुने समूहले एक लाख एक हजार एक सय ११ र दोस्रो हुनेले ५५ हजार पाँच सय ५५ रुपैयाँ प्राप्त गर्ने अध्यक्ष गुरुङले जानकारी दिए ।

ठेलो प्रतियोगितामा प्रथम हुनेले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । विजेतालाई नगदको साथमा प्रमाणपत्र, फेटा लगाएर बाजासहित गाउँ परिक्रमा गराइने क्लबका निवर्तमान अध्यक्ष विकास गुरुङले जानकारी दिए ।

१८ वर्षभन्दा तल उमेर समुहका प्रतियोगीले ठेलो जितेमा थप पुरस्कारको व्यवस्था रहेको उनले सुनाए । साथै, लगातार तीन वर्ष जित्नेका लागि रनिङ बेल्डको पनि व्यस्था रहेको आयोजकले जनाएको छ । ठेलोमा द्वितीयले २० हजार रुपैयाँ पाउनेछन् ।

रस्साकस्सी प्रतियोगितामा प्रथम हुने समूहले १५ र दोस्रो हुने समूहले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । कुर्ची खेलमा प्रथम हुने समूहले पाँच र दोस्रो हुने समूहले तीन हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

मेलामा हेर्न जानेहरुका पाहुनालाई खान बस्नका लागि याङ्जाकोटको होमस्टे र होटलमा सहजै व्यवस्थापन गर्न सकिने अध्यक्ष गुरुङले बताए ।

उनले भने, ‘हाम्रो त्यहाँ ११ वटा होमस्टे र दुई होटल छ । महोत्सवभर अझ बढि पाहुना आउनुभएमा पनि हामीले व्यवस्थापन गर्नेर्छौ ।’

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button