म्याग्दीका जनप्रतिनिधिको टोलीद्वारा पैदलयात्रा

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको टोलीले पैदलयात्रा गरेका छन् ।

म्याग्दीको नयाँ ‘भर्जिन’ गन्तव्यका रुपमा विकास हुन थालेको उक्त पदमार्गमा पूर्वाधारको अवस्था र आवश्यकता पहिचान तथा प्रवर्द्धनका लागि बुधबार आधार शिविर प्रस्थान गरेको टोली शुक्रबार पैदलयात्रा सकेर फर्किएको हो ।

जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाको नेतृत्वमा ६ वटा स्थानीय तहका प्रमुख, उपप्रमुख, विज्ञ, जनप्रतिनिधि, प्राविधिक, पत्रकार र स्थानीय अगुवाहरु गरी ४० जनाको सहभागिता रहेको अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए ।

“मौरिज हर्गोजले अन्नपूर्ण हिमाल आरोहण गर्न प्रयोग गरेको पैदलमार्गलाई पछ्याएर पदमार्ग बनाएका छौँ,” उनले भने, “अन्नपूर्ण हिमाल म्याग्दीमा भएर पनि यसको रोयल्टी लगायतको लाभ हामीले पाउन सकेका छैनौँ । यो तथ्यलाई पुष्टि गरेर वित्त आयोगले वितरण गर्ने पर्यटन रोयल्टी म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा ल्याउने र पदमार्गको प्रवर्द्धन गर्ने उद्देश्यले पैदलयात्रा गरिएको हो ।”

हुुमखोला हुँदै गुरासेडाँडा, फुुतफेते झरना, सम्धीखर्क, भुसकेत, नारच्याङ पञ्चकुण्ड ताल हुँदै चार हजार एक सय मिटर उचाइको अन्नपूर्ण हिमालको आधार शिविरसम्म पैदलयात्रा गरेर फर्किएको टोलीमा सहभागी जिसस प्रमुख राजकुमार थापाले बताए ।

पदमार्ग, झोलुङ्गे पुल, विश्रामस्थल, आश्रयस्थललगायत पर्यटन पूर्वाधार तयार भएपछि अन्नपूर्ण आधार शिविरमा पर्यटकहरु पुग्न थालेका छन् ।

नारच्याङदेखि कूल ४२ किलोमिटरको दूरीमा रहेको नर्थ अन्नपूर्ण आधार शिविर पुग्नका लागि हुमखोलासम्म नीलगिरिखोला जलविद्युत् आयोजनाले २० किलोमिटर सडकको मार्ग खोलेको छ ।

हुमखोलादेखि आधार शिविरसम्मको २२ किलोमिटर दूरीमा पदमार्ग निर्माण भएको छ । एकै दिन पैदलयात्रा गरेर पुगिने र नयाँ ठाउँ भएकाले ‘भर्जिन’ गन्तव्य रोज्नेहरुलाई अन्नपूर्ण नर्थ बेसक्याम्प आकर्षक गन्तव्य बन्ने सम्भावना रहेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए ।

सन् १९५० जुन ३ तारिकका दिन फ्रान्सका मौरिस हर्गोजले आठ हजार ७१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आरोहण गरेका थिए ।

मौरिस हर्जोगले अन्नपूर्ण आरोहण गरेको दुई वर्षपछि सगरमाथाको पहिलो आरोहण भएको थियो । अन्नपूर्ण पहिलोपटक मानव पाइला परेको आठ हजार मिटर अग्लो हिमाल हो ।

हर्गोजले आरोहणका लागि आधार शिविर जान प्रयोग गरेको पदमार्गलाई पछ्याउँदै विसं २०६८ मा नारच्याङका तेज गुरुङको नेतृत्वमा ‘मौरिज हर्गोज पदमार्ग’को पहिचान गरिएको थियो ।

अन्नपूर्ण आधार शिविरमा पुग्ने पदमार्ग, झोलुङ्गे पुल, आश्रयस्थललगायत पूर्वाधार बनाउन पर्यटन मन्त्रालयले रु दुई करोड ८० लाख र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले रु ४० लाखभन्दा बढी लगानी गरेका छन् ।

चालु आर्थिक वर्षमा गाउँपालिकाको रु ५० लाख बजेटमा भुसकेत र आधार शिविरमा आश्रयस्थल निर्माण गर्ने तयारी भएको छ ।

अन्नपूर्ण र नीलगिरि हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिन्छ ।

अन्नपूर्णको फेदीमा करिब २० हजार वर्गमिटरमा फैलिएको मनोरम पञ्चकुण्ड ताल यहाँका थप आकर्षणका रुपमा रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button