आज वरुथिनी एकादशीको व्रत गर्ने दिन, यस्तो छ महत्व

पोखरा । आज वरुथिनी एकादशीको व्रत गर्ने दिन रहेको छ । वैशाख कृष्णपक्षको एकादशीलाई वरुथिनी एकादशी भनिन्छ । साथै महाभयङ्कर बलवान दैत्य हिरण्याक्षले पृथ्वीलाई समुद्रमा लिएर गएको समयमा बराहरुपी विष्णु भगवानले त्यस दुष्ट हिरण्याक्षको बध गरी पृथ्वीलाई उसबाट खोसेर ल्याएको प्रसङ्ग बराहपुराणबाट अवगत हुन्छ । यस एकादशीलाई बराह एकादशी पनि भनिन्छ ।

शास्त्रअनुसार भूमिदान, हात्ती, घोडा दानलाई सबैभन्दा उत्तम दान मानिन्छ । हिन्दु पञ्चाङ्गअनुसार वैशाखमास कृष्णपक्षको एघारौँ तिथिको दिनलाई बरुथिनी एकादशी भनिन्छ । यस एकादशीका दिन विष्णु भगवातनको बराह अवतारको पूजा गरिन्छ । यी दानहरू भन्दा पनि तिल दानलाई अझ महत्वपूर्ण मानिन्छ भने तिल दान भन्दा पनि सुन दानलाई महत्व दिइन्छ ।

सुन दान भन्दा अन्न दान र अन्नदान र कन्यादान भन्दा पनि अझ विशेष महत्व बोकेको यो बैशाख कृष्ण पक्षको एकादशी हो । वरुथिनी एकादशीको महत्व धेरै व्यापक हुने कथन छ । वरुथिनी एकादशीको महिमा स्वयं भगवान श्री कृष्णले युधिष्ठिरको जिज्ञासा सुनेपछि बताउनु भएको हो ।

कुरुक्षेत्रमा सूर्य ग्रहणको बेला सुवर्ण दान गर्दा कमाउने पुण्य बराबर वरुथिनी एकादशीको व्रत बस्नाले कमाइन्छ भन्ने धार्मिक मान्यता छ । एक हजार वर्षसम्म तपस्या गर्दा पाउन नसकिने पुण्य यस एकादशीको व्रतबाट पाइने कुरा पुराणहरुमा वर्णन गरिएको छ ।

यस एकादशीको ब्रत बस्न अघिल्लो दिन अर्थात् दशमीकै दिनदेखि लसुन प्याज तथा मांसाहारी भोजन त्याग्नुपर्छ भन्ने मान्यता छ । दशमीकै दिन काँसको थालमा एकपटक मात्र भोजन गर्नुपर्छ । एकादशीका दिन बिहानै उठेर स्नान गरी शुद्ध भई व्रत बस्नुपर्छ ।

एउटा विदेशी स्वास्थ केन्द्रको अध्ययन अनुसार समय-समयमा व्रत बस्नाले स्वास्थ राम्रो हुने र अध्यात्मिक शुद्धीसम्म हुने पुष्टि भएको छ । सनातन धर्म र रितिहरू यस हिसाबले कति वैज्ञानिक छन् भन्ने पुष्टि पनि गर्छ ।

एकादशी व्रतमा खानाको मात्र नियन्त्रण हैन । नकारात्मक सोच र तनावको पनि नियन्त्रण गर्दै परमात्मा हरिमा चित्त लगाउन जरुरी बताइन्छ । यसरी वरुथिनी एकादशीको व्रत लिएमा पुण्य प्राप्त हुने र मृत्युपछि सिँधै बैकुण्ठ लोक जान पाउने धार्मिक विश्वास छ ।

बरुथिनी एकादशीको व्रत विधि

-दशमीका दिन सात्त्विक भोजन गर्ने । सूर्यास्तपश्चात भोजन नगर्ने । राति भुईंमा सुत्ने ।

-एकादशीका दिन बिहान सबेरै उठी स्नानादिबाट निवृत्त भई शुद्ध र सफा हुने, शुद्ध वस्त्र धारण गरेर दाहिने हातको अञ्जुलीमा जल, फूल समाएर हे बराह अवताररुपी विष्णु भगवान ! आज मैले अङ्क फल प्राप्ति कामनार्थ यस बरुथिनी एकादशीको व्रत गर्दैछु । उक्त व्रत विधिपूर्वक सम्पन्न गर्नका निम्ति प्रभुबाट मलाई प्रेरणा मिलोस् भन्दै संकल्प गर्ने।

-त्यसपछि पूजाकोठामा गएर बराह भगवान् र लक्ष्मी-नारायण भगवान्को प्रतिमा स्थापना गर्ने र ती प्रतिमामा पंहेलो वस्त्र धारण गराउने । दियो, कलश (कलशलाई गणेशको प्रारुप पनि मानिन्छ) एवम् अन्य देवी-देवताहरुको पनि स्थापना गरेर ती सबैमा विधिपूर्वक पूजन गर्ने । बराह र लक्ष्मी-नारायण भगवान्मा विधिपूर्वक पूजन गरेर जनै, सुपारी, जौ, तिल, तुलसीपत्र, कमलको फूल अर्पण गरी मनोकामना पूर्ण होस् भन्दै प्रार्थना गर्ने ।

-दिनभर निर्जल, निराहार उपासना गर्ने । विष्णु भगवानसम्बन्धीका भजनहरु सुन्ने । व्रत कथा सुन्ने–सुनाउने । विष्णु सहस्रनाम या ॐ नमो भगवते वासुदेवाया या ॐ नमो नारायणाय मन्त्रको जप गर्ने ।

-मध्यान्ह भएपछि सूर्य भगवानलाई अर्घ चढाएर प्रणाम गर्ने । आ-आफ्ना पितृहरुको स्मरण गर्दै उनीहरुलाई तर्पण दिने ।

-सूर्यास्तपछि आफू सरसफाइ आदि कार्यबाट निवृत्त भई सबै देवी-देवताहरुको पूजन गरी तिनीहरु सबैलाई नैवेद्य, पञ्चामृत, फलफूल, प्रसाद आदि चढाउने । अनि धूप, दीप, आरती, गरी शङ्ख, घण्ट बजाउने । उपस्थित सबैलाई प्रसाद वितरण गर्ने । रातभर निराहार जाग्राम गर्ने । रातभर निराहार जाग्राम गर्न नसक्ने अवस्था भएमा दूध, फलफूल, चिया खान सकिने । कम्तीमा पनि रातको पहिलो प्रहर बिताएर भुईंमा सुत्ने ।

-द्वादशीका दिन बिहान सबेरै उठेर स्नानादि गरी शुद्ध र पवित्र वस्त्र धारण गरेर दाहिने हातको अञ्जुलीमा जल, फूल, अक्षता समाएर हे बराह अवताररुपी विष्णु भगवान् ! तपाईंको प्रेरणाले मैले बरुथिनी एकादशीको व्रत गरी अहिले त्यसको पारण गर्दैछु । यस वतबाट मैले पाउने पुण्यका प्रभावले मेरो अङ्क कामना सिद्धहोस्, व्रतका समयमा मबाट झारझुकमा कुनै त्रुटि हुन गएको भए क्षमा पाऊँ, म प्रभुका शरणमा छु, मेरो रक्षा गर्नु हवस् प्रभु ! भन्दै हातमा भएको सबैथोक भगवान्लाई चढाएर प्रणाम गर्ने । बराह भगवान् र लक्ष्मी-नारायणको प्रतिमामा अघ्र्य चढाएर प्रणाम गर्ने । अनिपछि पण्डित र ब्राह्मणहरुलाई सक्दो दक्षिणा दिएर उनीहरुलाई भोजन गराउने । आफ्नो औकातअनुसार सक्दो तिल, छाता, जुत्ता, चप्पल, द्रव्य, धोती, गम्छा, वस्त्रादि, अन्न आदि दान गर्ने र यो दान सकेसम्म धर्मपरायण व्यक्तिहरुलाई मात्र दिने । अन्त्यमा प्रभु ! म तिम्रै शरणमा छु मनमन भन्दै मौन रही आफूले पनि भोजन गर्ने ।

-पूजाकोठामा प्रयोग हुने धातुका भाँडा-वर्तनहरु फलाम र स्टिलका हुन नहुने धार्मिक विधानमा उल्लेख गरिएको छ । एकादशीका दिन अन्न (विशेषगरी भात) र नून पूर्णरुपले वर्जित गरिएको छ ।

-व्रतको पारण द्वादशी तिथिको समयभित्रै गरिसक्नु पर्ने धार्मिक प्रावधान छ ।

एकादशीको व्रत गर्दा निर्जल, निराहार अनि एकादशीका दिनको बेलुका रातभर जाग्राम गरेमा सर्वश्रेष्ठ पुण्य पाइने कुरा हाम्रा भविष्योत्तर पुराण, स्कन्दपुराण, ब्रह्मबैवर्त पुराण, व्रह्मपुराण, विष्णुपुराण, पद्मपुराण, ब्रह्माण्डपुराण आदिमा वर्णन गरिएको पाइन्छ । निर्जल, निराहार, ब्रत गर्न नसक्ने शारीरिक अवस्था भएकाहरुका लागि दूध, चिया, फलफूल खाएर बवत गर्न सकिने, एक छाक सात्त्विक भोजन गरेर पनि व्रत गर्न सकिने विधान छ ।

यसरी गरिएको व्रतबाट आशिक पुण्य प्राप्त हुने बताइएको छ । आफ्नो अटल शौभाग्यका लागिमात्र नभएर आफ्ना दिवंगत पितृहरुको उद्धार तथा मुक्तका लागि पनि एकादशीको व्रत जादुको छडी बराबर हुने कुरा पुराणहरुमा उल्लेख छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button