मर्दिखोला शैक्षिक प्रतिष्ठानद्वारा शैक्षिक सामाग्री तथा छात्रवृत्ति वितरण

पोखरा । मर्दिखोला नेपाल शैक्षिक प्रतिष्ठानले कास्कीमा १० लाख बराबरको शैक्षिक सामाग्री तथा छात्रवृत्ति वितरण गरेको छ ।

प्रतिष्ठानको २५औँ वार्षिकोत्सवको अवसरमा कास्कीभित्रका सात सरकारी विद्यालयलाई शैक्षिक सामाग्री तथा सरकारी विद्यालयका पाँच जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो ।

प्रतिष्ठानले सात विद्यालयलाई कम्प्युटर, प्रोजेक्टर, प्रिन्टर, विज्ञान सामाग्री तथा पुस्तक गरी नौ लाख बराबरको शैक्षिक सामाग्री वितरण गरेको छ भने १०, ११ र १२ मा अध्ययन गर्ने जेहेन्दार पाँच विद्यार्थीलाई २० हजार रुपैयाँका दरले एक लाखको छात्रवृत्ति प्रदान गरेको हो ।

छात्रवृत्ति पाउने विद्यार्थीमा निष्पक्ष मावि रिभानकी अस्मिता गिरी, बराह मावि भिंडावारीका अग्रसर लामिछाने, माछापुच्छ्रे मावि भुर्जुङखोलाकी सरिता क्षेत्री, गौरीशंकर मणिपाल माविकी सबिना दाहाल र धारापानी मावि पाउदुरका रोहन परियार रहेका प्रतिष्ठानका सचिव डिल्लीराम गिरीले जानकारी दिए ।

यस्तै, निष्पक्ष मावि रिभान, बराह मावि भिडावारी, माछापुच्छ्रे मावि भुर्जुङखोला, शारदा मावि माछापुच्छ्रे-१, गौरीशंकर मनिलाल मावि सैतीघट्ट, भारती भवन मावि पुरन्चौर र संगम मावि अन्नपूर्ण-६ चन्द्रकोटलाई गरी नाै लाख बराबरको शैक्षिक सामाग्री वितरण गरिएको सचिव गिरीले बताए ।

वार्षिकोत्सवकै अवसरमा प्रतिष्ठानले हाजिरीजवाफ प्रतियोगितासमेत आयोजना गरेको थियो । जसमा निष्पक्ष मावि प्रथम, माछापुच्छ्रे मावि ढिकुरपोखरी द्वितीय, सिर्जना मावि सिम्पाली तृतीय र भारती भवन मावि सान्त्वना हुन सफल भएको थियो ।

बराह माविमा भएको वार्षिकोत्सव कार्यक्रममा माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मिनबहादुर गुरुङले राज्यले गर्नुपर्ने कार्यलाई प्रतिष्ठानले गरेकोमा आभार प्रकट गरे ।

कार्यक्रममा माछापुच्छ्रे गाउँपालिका-५ का वडाध्यक्ष नारयण पौडेल, वडा-६ का वडाध्यक्ष टेकनाथ गौतम, बराह माविका प्रधानाध्यापक मिनराज अधिकारीलगायतले बोलेका थिए ।

प्रतिष्ठानका सचिव डिल्लीराम गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानका पूर्वकोषाध्यक्ष नरबहादुर गुरुङले स्वागत, कोषाध्यक्ष अनिल लामिछानेले सञ्चालन गरेका थिए ।

मर्दिखोला शैक्षिक प्रतिष्ठानले २०५४ सालदेखि कार्य सुरु गरी २०५६ सालमा विधिवत दर्ता गरी शैक्षिक क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button