पोखरामा मीरा राणा र प्रा.डा. ध्रुवेशचन्द्र रेग्मीलाई पुरस्कृत गरिने

पोखरा । संगीत प्रशिक्षण केन्द्र पोखराद्वारा सञ्चालित लालबहादुर-चण्डेश्वरी ढेवाजु स्मृति पुरस्कार २०७८ बाट प्रसिद्ध गायिका मीरा राणा र २०८० बाट संगीतकार प्रा.डा. ध्रुवेशचन्द्र रेग्मीलाई सम्मान गरिने भएको छ ।

नेपाली संगीतको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएबापत राणा र शास्त्रीय संगीतमा महत्वपूर्ण योगदान पुर्याएबापत प्रा.डा. रेग्मीलाई सम्मानित गरिने निर्णय भएको केन्द्रले जनाएको छ । केन्द्रका अध्यक्ष गौतम विजुक्छेका अनुसार सम्मान कार्यक्रम आगामी जेठ १२ हुनेछ ।

केन्द्रका संस्थापक अध्यक्ष लालबहादुर ढेवाजुको स्मृतिमा उनकी धर्मपत्नी चण्डेश्वरी ढेवाजुले अक्षयकोष खडा गरेकी हुन् । २०५५ सालबाट प्रत्येक दुई वर्षमा यो पुरस्कार प्रदान गरिँदै आइरहेको छ ।

यस पुरस्कारबाट सरोजगोपाल बज्राचार्य, कल्याण शेरचन, बाबा राणा, अमृत गुरुङ, रामभक्त जोजिजु, धनबहादुर गायक तथा श्यामलाल श्रेष्ठ सम्मानित भइसकेका छन् ।

पुरस्कारका संस्थापक चण्डेश्वरीको निधनपछि पनि उनकी छोरी सरस्वती श्रेष्ठ र विजयालक्ष्मी मल्लले पुरस्कारलाई निरन्तरता दिएका हुन् ।

उनीहरुले आफ्ना पितामाताको स्मृतिमा नौ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् ।

यस पुुरस्कारबाट नेपाली संगीतका शिखर पुरुष अम्बर गुरुङ, सुप्रसिद्ध गायक तथा संगीतकार दीप श्रेष्ठ तथा सुप्रसिद्ध संगीतकार रञ्जीत गजमेर र नृत्यांगना/अभिनेत्री मिथिला शर्मा सम्मानित भइसेका छन् । पुरस्कारको राशी एक लाख एक रुपैयाँ रहेको छ ।

को हुन् मीरा ?

मीरा राणाको जन्म वि.सं. २००८ साल असोज विजयादशमीको दिन पिता पं.शम्भुप्रसाद मिश्र र माता निर्मलाकी सुपुत्रीको रुपमा काठमाडौंको कमलपोखरीमा भएको हो ।

घरमै संगीतको वातावरण भएकी मीराले भारतको इलाहावादबाट संगीतमा विशारद गरेकी छन् । उनले चलचित्र, आधुनिक, लोक र विविध भाषामा गरी करिब एक हजार छ सय गीत गाइसकेकी छन् ।

२०२२ देखि गायन प्रारम्भ गरेकी मीराले २०३५ देखि २०६६ सालसम्म रेडियो नेपालमा संगीतकै सेवामा कार्यरत रहिन् । २०२८ सालमा उदयजंग राणासँग विवाह बन्धनमा बाधिएकी राणाको मखमली चोली, मेरो पाऊमा आदि सर्वाधिक रुचाइएका गीतहरु हुन् ।

छिन्नलता, गोरखा दक्षिणबाहु, नारायाण गोपाल युवा संगीत पुरस्कार, नातिकाजी पुरस्कारलगायत थुप्रै पुरस्कार/सम्मानबाट सम्मानित राणाले स्वदेश तथा संसारका थुप्रै देशमा आफ्नो प्रस्तुति राखेकी छन् ।

को हुन् ध्रुवेशचन्द्र ?

प्रा. डा. ध्रुवेशचन्द्र रेग्मीको जन्म इ.सं १९६२ सेप्टेम्बर १६ मा काठमाडौंमा पिता प्रा. सतिशचन्द्र रेग्मी र माता सानुबाबा रेग्मीको चौथो सन्तानको रुपमा जन्म भएको हो । सीतारवादनमार्फत हजुरबुबा पं. देवचन्द्र रेग्मीदेखि नै शास्त्रीय संगीतमा साधनारत रेग्मी घरानाको इतिहास रहेको छ ।

संगीतमा वाद्यवादकको रुपमा पहिलो विद्यावारिधि गरेका ध्रुवेश सानैदेखि संगीतमा जोडिए ।

चर्चित शास्त्रीय समूह “सुकर्म व्याण्ड” का संस्थापक सदस्य ध्रुवेशले शास्त्रीय संगीत र नेपाली लोक संगीतको विकास र विस्तारमा योगदान गरेवापत नातिकाजी विशेष संगीत सम्मान, राष्ट्रिय कलाश्री अवार्ड, कलानिधि विशेष सम्मान, महेन्द्र विद्याभूषण पदक, स्वर संगम युवा संगीत अवार्ड, रामेश्वरीदेवी युवा संगीत सम्मान लगायत थुप्रै पुरस्कार/सम्मानबाट सम्मानित भइसकेका छन् । उनले स्वदेश तथा विश्वका थुप्रै देशमा भ्रमण/प्रस्तुति गरिसकेका छन् ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button