आज जौको सातु र सर्वत खाएर अक्षय तृतीया मनाइँदै, के-के छन् महत्व ?

पोखरा । आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया । जौको सातु र सर्वत खाएर मनाइँदैछ । यस दिन विष्णु र लक्ष्मीको पूजा गर्नुका साथै दान गरेमा शुभ फल मिल्ने धार्मिक विश्वास छ ।

उष्ण गर्मीको समयमा शीतलता प्रदान गर्ने आहारको रुपमा जौको सातु र सर्वत पानी खाएर अक्षय तृतीया मनाउने गरिएको जानकारहरू बताउँछन् ।

अक्षय तृतीया पर्व हिन्दू सम्प्रदायका मानिसहरूको लागि अरू पर्वभन्दा विशेष छ । यो दिन प्राचीनकालदेखि नै अनेक किसिमका विशेष कार्यहरू भएका छन् । त्यसैले यसलाई विशेष दिनको रुपमा मान्न थालिएको हो ।

उनकाअनुसार वैशाख तृतीयाकै दिनदेखि त्रेता युगको सुरुवात भएको हो। यही दिन भगवान परशुराम अवतारको जन्म भयो । त्यसैले यस दिनलाई परशुराम जयन्तीको रूपमा पनि मनाइन्छ । यही दिन शिव-पार्वतीको विवाह पनि भएको थियो । त्यसैले यस दिन गरेको स्नान, दान र शुभ कर्मलाई विशेष महत्वका साथ हेर्ने गरिन्छ ।

ज्योतिषशास्त्रका अनुसार अक्षय तृतीयका दिन सूर्य तथा चन्द्रमा आफ्ना उच्च राशिमा रहन्छन् । यसकारण यो दिन पञ्चांग नहेरी पनि कुनै पनि शुभकार्य गर्न सकिन्छ ।

शास्त्रका अनुसार यो दिन स्वयंसिद्ध मुहूर्त हो । विवाह, गृहप्रवेश, पदभार ग्रहण, सुन खरीद, नयाँ सामान खरीद, सवारी साधन खरीद, भूमि पूजा तथा नयाँ व्यापारका लागि यस दिन अति उत्तम हुने विश्वास गरिन्छ ।

अक्षय तृतीयाको महत्व

शास्त्रका अनुसार अक्षय तृतीयालाई एक वर्षको साढे तीन शुभ मुहूर्त मध्ये एक मानिन्छ जसलाई अबुझा मुहूर्त मानिन्छ । अबुझा मुहूर्तमा कुनै पनि शुभ कार्य गर्दा पण्डितबाट कुनै मुहूर्त लिइँदैन । अक्षय तृतीयाको दिन सबै प्रकारका शुभ कार्य गर्न सकिन्छ।

  • अक्षय तृतीयाको दिन सुनको गहना किन्नु शुभ मानिन्छ ।
  • भगवान परशुराम र हयग्रीवले अक्षय तृतीयाको दिन अवतार लिएका थिए।
  • त्रेतायुग पनि यही तिथीबाट सुरु भएको थियो ।
  • अक्षय तृतीयाको दिन भारतको उत्तराखण्डमा श्री बद्रीनाथ जीको द्वार खोलिन्छ।
  • धार्मिक ग्रन्थका अनुसार महाभारतको युद्ध अक्षय्य तृतीयाको दिन समाप्त भएको थियो ।
  • धार्मिक शास्त्र अनुसार अक्षय तृतीयाका दिन द्वापर युगको अन्त्य भएको थियो ।
  • धार्मिक कथा अनुसार अक्षय तृतीयाको दिन सुदामा भगवान कृष्णलाई भेट्न आएका थिए ।
  • अक्षय तृतीयाको शुभ दिन वृन्दावनमा रहेको बाँके बिहारी जीको मन्दिरमा श्री देवताको चरणको दर्शन हुन्छ । यो आजकै दिन वर्षमा एक पटक मात्र खुल्छ ।
  • वेदव्यास र भगवान गणेशले अक्षय तृतीयाको दिनदेखि महाभारत ग्रन्थ लेख्न थालेका थिए।
  • धार्मिक ग्रन्थका अनुसार अक्षय तृतीयाको दिन माता गंगा पृथ्वीमा आएकी थिइन् ।

अक्षय तृतीयाको शुभ दिनमा भगवान विष्णु र माता लक्ष्मीको पूजा गर्ने विधि छ । यस दिन विधिपूर्वक भगवान विष्णु र माता लक्ष्मीको पूजा गर्नाले फल प्राप्त हुन्छ।

हिन्दू धर्म ग्रन्थमा भनिएको छ कि अक्षय तृतीयाको दिन गरेको दान र पुण्य कर्मको फल कहिल्यै नष्ट हुँदैन। अक्षय तृतीयाको दिन विवाह गर्ने, सुन किन्ने, लक्ष्मीको पूजा गर्ने विशेष महत्व रहेको छ ।

हरेक वर्ष अक्षय तृतीयाका दिन सुनका गहना किन्ने चलन छ । यस दिन किनेको सुन सुख, समृद्धि र सौभाग्यको प्रतीक मानिन्छ । यस दिन किनेको वा लगानी गरेको सुन कहिल्यै समाप्त नहुने जनविश्वास छ । अक्षय तृतीयाको दिन भगवान विष्णु र देवी लक्ष्मीले खरिद गरेको सुन र लगानीले स्वयम् रक्षा र वृद्धि गर्ने जनविश्वास रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button