पोखरा । वैशाख २५ देखि २९ गतेसम्म काठमाडौँमा सञ्चालन भैरहेको नेपाल-चीन संयुक्त फार्मास्युटिकल कन्फेरेन्सको विस्तारित पोखरामा सम्पन्न भयो ।
पोखरा विश्वविद्यालयअन्तर्गत स्कूल अफ हेल्थ एण्ड अलाइड साइन्सेजको संयोजनमा भएको कार्यक्रममा नेपाल र चीनका फार्मास्युटिकल साइन्स सम्बन्धित प्राज्ञिक तथा विज्ञ सहभागी थिए ।
नेपालका प्रा.बालमुकुन्द रेग्मी तथा चीनका प्रा. झीवेन चाङको संयुक्त अध्यक्षतामा सञ्चालित कार्यक्रममा पोखरा विश्वविद्यालय स्कूल अफ हेल्थ एण्ड अलाइड साइन्सेजकी निर्देशक विमला भट्टले यस प्रकारका कार्यक्रमले दुई देशका फार्मास्युटिकल साइन्सेज विषयका विज्ञ तथा अनुसन्धाताबीचका सहकार्यका थप अवसर प्रदान गर्ने विश्वास व्यक्त गरिन् ।
चीनको साङ्घाइ परम्परागत चिकित्सा विश्वविद्यालयका प्रा.गुओ कियाङ लिङले चिनिया परम्परागत चिकित्सा पद्धतिमाथि चीनमा भैरहेको अनुसन्धानबारे प्रकाश पारेका थिए ।
साङ्घाइ इन्स्टिट्युट अफ मेटेरिया मेडिकाकी प्रा. होङ लिउले आफ्नो संस्थाले गरेको अनुसन्धान तथा उपलब्धिबारे जानकारी गराएका थिए ।
कार्यक्रममा सहभागीबीच चीन र नेपालमा औषधि विज्ञानका विभिन्न विशिष्टीकृत क्षेत्रमा भैरहेका अध्ययन अनुसन्धानका विषयमा तथा विशेष गरी चीनमा प्रचलित परम्परागत उपचार पद्धति तथा नेपालमा प्रचलित आयुर्वेद लगायतका परम्परागत उपचार पद्धतिमा रहेको ज्ञानको संयुक्त रूपमा आधुनिक पद्धतिबाट खोज अनुसन्धानमा कार्य गर्न सकिने विषयमा छलफल भएको थियो ।
कार्यक्रममा गण्डकी विश्वविद्यालयका उपकुलपति प्रा. नवराज देवकोटा, गण्डकी प्रदेश सामाजिक तथा स्वास्थ्य मन्त्रालयका सचिव डा. विनोदबिन्दु शर्मा तथा गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्काले बोलेका थिए ।
कार्यक्रममा पोखरा विश्वविद्यालय स्कूल अफ हेल्थ एण्ड अलाइड साइन्सेजका प्राध्यापकका अतिरिक्त पोखराका वरिष्ठ फार्मासिस्ट डा. चन्दन श्रेष्ठ, गण्डकी मेडिकल कलेजकी फार्मेसी विभाग प्रमुख बिन्दु मल्ल, गण्डकी विश्वविद्यालयका फार्मेसी विभागका प्रमुख प्रकाश पौडेल लगायतका विज्ञ फार्मासिस्टलगायत सहभागी थिए । कार्यक्रमको सहजीकरण पोखरा विश्वविद्यालयका उपप्राध्यापक अतिश कौण्डिन्यायनले गरेका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution