वैचारिक बहस गरौँ, व्यक्तिगत गालीगलौज बन्द गरौँ : मुख्यमन्त्री

पोखरा । नेकपा एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीले व्यक्तिगत गाली-गलौज बन्द गरेर वैचारिक बहसमा जुट्न सबै वामपन्थी शक्तिहरूलाई आग्रह गरेका छन् ।

सोमबार पोखरामा आयोजित ‘पुष्पलाल जन्मशताब्दी समारोह २०८१’ विचार गोष्ठीमा गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका अधिकारीले यस्तो आग्रह गरेका हुन् ।

‘वैचारिक बहस गरौँ, व्यक्तिगत गालीगलौज बन्द गरौँ, यति गरें पुग्छ अहिले, आआफ्नो विचार छन्, संगठन छन् दृष्टिकोण छन्’ पुष्पलाल अध्ययन केन्द्र कास्कीका अध्यक्षसमेत रहेका अधिकारीले भने । पुष्पलालको बाटो ठिक हो भन्ने कम्युनिष्टहरू नै भौतारीदा समस्या देखिएको उनको भनाइ छ ।

‘म कसैको टिप्पणी गर्न चाहन्न, यत्रो त्याग तपस्या र समर्पणबाट यहाँसम्म आउनुभएको छ, निरन्तर त्यसमा निष्ठापूर्वक लाग्नुभएको छ, र, पुष्पलालको बाटो ठिक हो भनेर हामी हिँडिरहेका छौँ, तर भौँतारिऔँ, भङ्गालै भङ्गाला हिड्नुपर्ने कारण के’, उनको प्रश्न थियो ।

कम्युनिष्टमा रणनीतिक रुपमा दुविधा नभएपनि कार्यनीतिका कारण पछाडि परेको उनले बताए । ‘हामी कार्यनीतिका कारण पछाडि पर्यौँ, रणनीतिक रुपमा दुविधा छैन, अहिलेको परिस्थितिमा कसरी जाँदा ठिक ठाउँमा जान्छौँ त्यसको विश्लेषण गरौँ’ उनको आग्रह थियो ।

इतिहासको बखान गरेर मात्र रमाउन कम्युनिष्टहरू नहुनेमा उनको जोड छ । ‘कम्युनिष्टले इतिहासको भजनकीर्तन गरेर बस्ने होइन वर्तमानमा उभिएर भविष्य निर्माण गर्ने हो’ उनले भने ।

यसभन्दा अगाडिसम्म कम्युनिष्टले सिद्धान्तको आधारमा संगठन गर्ने तथा त्यो संगठन संर्घषको लागि हो भनेर भन्ने गरेकोमा अहिले त्यसमा शैली र मनोविज्ञान थप्नुपर्ने अवस्था आएको उनले थपे । कार्यशैली र व्यक्तिको मनोविज्ञानले समेत लक्ष्यलाई असर पुर्याउने गरेको अनुभव उनले सुनाए ।

कार्यक्रममा कम्युनिष्ट आन्दोलन लगायतमा पुष्पलालको योगदान विषयमा बाम बुद्धिजीवी तथा लेखक रामराज रेग्मी, परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ, र रामबहादुर भण्डारीले कार्यपत्र प्रस्तुत गरेका थिए । उनीहरूले प्रस्तुत गरेको कार्यपत्रमाथि दधिराज सुवेदी, गोपीरमण उपाध्याय, विश्ववन्धु भण्डारी टिप्पणी गरेका थिए ।

कार्यक्रममा पुष्पलाल अध्ययन केन्द्र कास्की उपाध्यक्ष सोमनाथ अधिकारी प्यासी, महासचिव भीम कार्की, एमाले कास्कीका अध्यक्ष वैनबहादुर अधिकारी क्षत्री, माओवादी केन्द्र कास्की इन्चार्ज रामजी बराल जीवन, राष्ट्रिय जनमोर्चाका शंकर बराल, नेकपा नेतृ सावित्रा दुरा आस्था र डा. मनिष भट्टराईसमेतले पुष्पलालको योगदानको बारेमा चर्चा गरेका थिए ।

पुष्पलाल जन्मशताब्दी समारोह २०८१ का संयोजक लोककृष्ण भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पुण्यप्रसाद पौडेलले गरेका थिए ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button