बेलायतमा प्रकट पगेनी शिव र पारिजातको स्मरण

पोखरा । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास बेलायत शाखाले साउथ ह्यारोमा विविध कार्यक्रमका साथ साहित्यकार प्रकट पगेनी शिवको श्रद्धाञ्जलीसभा र पारिजातको ८७औँ जन्मजयन्ती मनाएको छ ।

अनेसास बेलायतका सल्लाहकार सुमलकुमार गुरुङले पारिजातको व्यक्तित्व स्मरण गर्दै दार्जीलिंगमा जन्मिएकी विष्णुकुमारी वाइबालाई जीवन्त राख्ने नाम पारिजात भएको बताए ।

उनले मदन पुरस्कार प्राप्त उनको उपन्यास शिरिषको फूलबाट नेपाली उपन्यास क्षेत्रमा नयाँ मोड आएको पनि स्मरण गरे । पारिजातका ३ कवितासंग्रह, १० उपन्यास, निबन्ध तथा कथा कृति प्रकाशित छन् ।

कार्यक्रम संयोजक डा रूपक श्रेष्ठले प्रकट पंगेनी शिवको व्यक्तित्व चर्चा गर्दै ‘किन रोयौ भन तिमी मनको बलेसी’ मा जस्ता चर्चित गीत, ‘साँझमा दियो बालिराख्यौ को आउँदैछ आज’ जस्ता शृङ्गारिक गजलका स्रस्टा पंगेनीलाई बहुप्रतिभाशाली सर्जकका रूपमा चिनाए ।

अभिनयमा पनि अब्बल पंगेनीले २०३८ सालमा सरुभक्तको ‘गोलार्धको कालो आकाश’ नाटकमा गरेको अभिनयका लागि नेपाल प्रज्ञा–प्रतिष्ठानले उनलाई ‘सर्वश्रेष्ठ अभिनेता’ घोषणा गरेको इतिहाससमेत श्रेष्ठले स्मरण गरे। पोखरामा जीवन र जगतका लागि अक्षरयात्राका एकजना परिकल्पनाकार रहेकोसमेत चर्चा गरे ।

साथै उनले डा संगीता स्वेच्छाको ‘सेतो सिउँदो उपन्यासबारे चर्चा गर्दै श्रेष्ठले उपन्यास १८ वर्षको उमेरमा लेखिएको उपन्यासमा तत्कालीन नेपाली समाज र नारी मनोविज्ञानको यथार्थ चित्रण गरिएकोसमेत बताए ।

२०१३ असोज २४ गते कास्की जिल्लाको तत्कालीन देउराली गाउँ पञ्चायत २ मा जन्मेका प्रकटका ‘यो मन कतै अल्झेको छ’, ‘जूनको चिठी जूनालाई’, ‘गीतिसंग्रह’, ‘प्रणय वेदका हृचाहरु’ गजलसंग्रह र अक्षरभरि अक्षता कवितासंग्रह प्रकाशित छन् ।

सोही समारोहबीच डा संगीता स्वेच्छाको उपन्यास ‘सेतो सिउँदो’ तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज पोर्चुगलकी अध्यक्ष साबी श्रेष्ठको मुक्तकसंग्रह ‘अपरिभाषित आभा’ को विमोचन गरिएको थियो ।

उपन्यासकार डा संगीता श्रेष्ठ स्वेच्छाले आफ्ना पिताको प्रेरणाले सेन्ट जेभियर्स कलेजबाट आइएससी दिएर बसेको समयमा आफूले उक्त उपन्यास लेखेको स्मरण गरिन् ।

समाजकी कोषाध्यक्ष प्रतिमा केसीले ‘सेतो सिउँदो’ उपन्यास नारीको संघर्षको बेजोड कथा भएको बताइन् ।

कुमार केसीले साबी श्रेष्ठको ‘अपरिभाषित आभा’ विविध विषय समेटिएको मुक्तकको संग्रह मोबाइल साइजको बनोट तथा मुक्तकअनुसारका रंगीन चित्रको सजावटले कृति विशिष्ट भएको धारणा राखे ।

कार्यक्रममा प्रमुख अतिथि डा वीरेन्द्र अमात्य, अतिथि उर्मिला निर्दोषी, कुमार केसी, प्रेम खड्का, गंगा भण्डारी, जीत बुढाथोकी, विशन थापा, टेकबहादुर थापा, गोपी सापकोटा, बासुदेव सापकोटा, सारा देवी गुरुङ, माया गुरुङ, बिजय हितान, भोज बराल, प्रतिमा केसीलगायतले रचना वाचन गरेका थिए ।

अनेसास बेलायतका अध्यक्ष राज श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष माया गुरुङले स्वागत र महासचिव मञ्जु भण्डारी र कुमार केसीले सञ्चालन गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button