
पोखरा । पोखरा महानगरपालिका वडा नं.२ को आयोजनामा ज्येष्ठ नागरिकका लागि विशेषज्ञ सुविधासहित स्वास्थ्य परीक्षण शिविर गरिएको छ । शिविरमा दुई २६ जना ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको छ ।
शिविर उद्घाटन गर्दै पोखरा महानगरपालिकाकी कार्यवाहक प्रमुख मञ्जुदेवी गुरुङले उमेर पुगेका ज्येष्ठ नागरिकको नियमित स्वास्थ्य परीक्षण गरी निगरानीमा राख्न सके उनीहरूको आयु बढाउन सकिने बताइन् ।
ज्ञान र अनुभवसहितको अभिभावकत्व परिवारका लागि आवश्यक पर्ने भन्दै उनले ज्येष्ठ नागरिकलाई गरिने व्यवहारमा सुधार गर्न आवश्यक रहेको स्पष्ट पारिन् ।
वृद्ध उमेरका उनीहरूलाई गरिने व्यवहारमा सम्मान र हार्दिकता हुनुपर्नेमा उनले जोड दिइन् । स्वास्थ्य मानव जीवनको पहिलो प्राथमिकताको विषय भएकाले आम नगरवासीको स्वास्थ्य सुरक्षाप्रति महानगरपालिका प्रतिबद्ध रहेको उनले बताइन् ।
महानगरपालिकाका हरेक स्वास्थ्य केन्द्र, सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र र अस्पताल समेतबाट नागरिकलाई सरल र सुलभ सेवा प्रदान गर्ने कार्यमा महानगरपालिका लागि रहेको उनको भनाइ थियो ।
पोखरा २ का वडाध्यक्ष दिवसमान प्रधानाङ्गले वडामा रहेका ज्येष्ठ नागरिकलाई सेवा प्रदान गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको बताए । उनीहरूको स्वास्थ्य पहुँच सहज नहुने, आँफै अस्पताल जान नसक्ने र नियमित स्वास्थ्य परीक्षणको सुविधाबाट वञ्चित भएका ज्येष्ठ नागरिकलाई वडामा नै सेवा उपलब्ध गराइएको उनले बताए । ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षणसहित एक महिनालाई पुग्ने औषधिसमेत निःशुल्क उपलब्ध गराइएको अध्यक्ष प्रधानाङ्गले बताए ।
शिविरमा सुगर प्रेसर, मुटुसम्बन्धी जाँच तथा परामर्श र जनरल हेल्थ चेकअपलगायत सेवा दिइएको महानगरपालिकाका जनस्वास्थ्य निरीक्षक दीपेन्द्र सुनारले जानकारी दिए ।
उनका अनुसार पोखरा महानगरपालिका क्षेत्रमा रक्तचापको समस्या पहिलो र मधुमेहको समस्या तेस्रो नम्बरमा छ । यसको नियन्त्रणका लागि खानपानमा विशेष ध्यान दिन उनले सुझाव दिए ।
कार्यक्रममा सदस्य तथा सहरी स्वास्थ्य केन्द्र पोखरा-२ को सञ्चालन तथा व्यवस्थापन समितिकी उपाध्यक्ष गोमा सुवेदी र सचिव याचनाश्री खवास लगायतले स्वास्थ्य सचेतना र ज्येष्ठ नागरिकको स्याहार सुसारका सन्दर्भमा विशेष ख्याल गर्न आग्रह गरेका थिए ।





