नव सिद्धार्थ महिला सहकारीको रक्तदान, ६२ युनिट रगत संकलन

पोखरा । पोखरा महानगरपालिका वडा नं. ८ बगालेटोलस्थित नव सिद्धार्थ महिला बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम आयोजना गर्यो ।

सहकारीको २२औँ वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदानमा ६२ युनिट रगत संकलन भएको छ ।

कार्यक्रम उद्घाटन गर्दै पोखरा-४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले महिलाको नेतृत्वमा सञ्चालन हुने संस्था सहज ढंगले सञ्चालन हुने भन्दै यसको उदाहरण नव सिद्धार्थ महिला सहकारी भएको बताए ।

सहकारी क्षेत्र उथलपुथल भइरहेको अवस्थामा पनि नव सिद्धार्थ सहज ढंगले सञ्चालन हुनु सुखद् पक्ष रहेको बताए ।

रक्तदान मानव जीवनकै महत्वपूर्ण कार्य भन्दै यसका लागि थप सचेतना आवश्यक भएको उनले बताए ।

जिल्ला सहकारी संघकी अध्यक्ष सावित्रा कोइरालाले वर्तमान अवस्थामा सहकारीको उद्देश्य र मर्म विपरीत सञ्चालित केही संस्थाका समग्र सहकारी क्षेत्र नै बद्नामी  हुन पुगेकाे दावी गरिन् ।

उनले भनिन्, ‘जबसम्म तीन वटै तहका सरकारले सहकारी ऐन, कानून, सिद्धान्त र मूल्य मान्यतालाई आत्मसात गरेर नीति र विधिसम्मत सञ्चालन गर्न सक्दैनौं तबसम्म सहकारी क्षेत्र सुदृढीकरण हुँदैन ।’

अध्यक्ष कोइरालाले समाज र सहकारी एक सिक्काका दुई पाटा भएको भन्दै समाज विना सहकारी असम्भव रहेको स्पष्ट पारिन् ।

संस्थाका पूर्वअध्यक्ष एवं पोखरा-४ का वडा सदस्य पार्वती माकाजुलाई सहकारी आर्थिक गतिविधिसँगै सामाजिक कार्यमा पनि उत्कृष्ट भएको बताइन् ।

संस्थाकी अध्यक्ष भवानी माकाजुले सहकारीमार्फत विगतमा पनि रक्तदानसहित धेरै सामाजिक काम गरेको र आगामी दिनमा पनि निरन्तर गर्दै जाने स्पष्ट पारिन् ।

अध्यक्ष भवानी माकाजुको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाकी सचिव एवं कार्यक्रम संयोजक कुश्मा राणाले स्वागत, सहसचिव डाल्डादेवी भुजेलले कार्यक्रम सञ्चालन र शिक्षा समिति संयोजक मीरा पराजुलीले सहकारी सिद्धान्त वाचन गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button