पोखराको अमरसिंहचौरमा विद्रोह सभा, लेकसाइडदेखि र्‍याली

  • पोखरा न्यूज
  • २०८१ जेष्ठ ८
पोखराको अमरसिंहचौरमा विद्रोह सभा, लेकसाइडदेखि र्‍याली

|फाइल तस्बिर

पोखरा । पोखराको अमरसिंह चौरमा बुधबार विद्रोह सभा आयोजना गरिने भएको छ । दुर्गा प्रसाइँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले सो सभा आयोजना गरेको हो ।

कार्यक्रम सुरु हुनुअघि लेकसाइडबाट अमरसिंहसम्म र्‍याली निकालिने छ । सभाको सबै तयारी पूरा भएको अभियानका पश्चिमाञ्चल संयोजक यदुनाथ सिग्देलले बताए। सो सभामा भ्रष्ट, दलाल, तस्कर तथा माफियाको भिडियाे र तस्बिर सार्वजनिक गरिने उनले बताए ।

यो नितान्त नागरिक सभा भएको भन्दै उनले कार्यक्रममा २० हजार मानिस सहभागी हुने दावी गरे ।

अभियानका केन्द्रीय सचिव श्रीराम कँडेलले मुलुक आर्थिकरुपमा जर्जर र सिथिल भएको औंल्याउँदै सरकारले अपनत्व लिई २० लाखसम्मको ऋण मिनाहा गर्नुपर्नेमा जोड दिए ।

‘हाम्रो मतलब ऋण तिर्नु पर्दैन भनेको होइन, ऋण तिर्न सक्ने वातावरण ऋणिहरूको छैन, त्यसैले सरकार अभिभावक भएकाले तिरिदिनुपर्ने भनेको हो,’ उनले भने ।

सांस्कृतिक अभियान्ता माधव कल्पितले अभियान नागरिकको पक्षमा भएको भन्दै ऐक्यबद्धता जनाउन आह्वान गरे ।

‘बैंकले गरिब जनतालाई सुकुमवासी बनाएको छ, देशमा आर्थिक अराजकता छ, त्यसको अन्त्यका लागि यो अभियान हो,’ उनले भने ।

अभियानका अन्तर्राष्ट्रिय संयोजक यवराज आचार्यले पछिल्लो संविधानले जनताको अपेक्षा पूरा गर्न नसक्ने तर्क गर्दै प्रदेशको औंचित्य नभएको बताए ।

यो अभियानले गरिब जनतालाई जोगाउने भन्दै आचार्यले सरकारले अभियानका कुरा नसुने संगठन विस्तार गरी बन्दुक उठाउन बाध्य हुने चेतावनीसमेत दिए ।

अभियानले करिब ६८ अर्ब एनसेलको कर उठ्न बाँकी रहेको, ३२ अर्ब बिजुलीको, ९७ अर्ब जतिका अख्तियारमा फाइल भएको जनाएको छ । सरकारले यी सबैको चाँडोभन्दा चाँडो टुंगो लगाउनुपर्ने माग गरेको छ । चक्रवर्ती ब्याजको मारले जनता घर न घाटका भएको अभियानको जिकिर छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस