
पोखरा । आज भगवान नारायणका १० अवतारमध्ये एक नृसिंह भगवानको पूजा आराधना गरी आज नृसिंह जयन्ती मनाईँदै छ । नृसिंह भगवान नारायणका चौथो अवतार हुन् ।
सत्ययुगमा असुरका राजा हिरण्यकश्यपुको अत्याचार निकै बढेपछि लोककल्याणका लागि हिरण्यकश्यपुको बध गर्न नारायणले नृसिंहको अवतार लिएको किंवदन्ति छ ।
किंवदन्तिअनुसार मान्छेले न पशुपंक्षीले, न दिनमा न रातमा, न बाहिर न भित्र, न भूमिमा न आकाशमा, न अस्त्रले न शस्त्रले मार्न सकिने बरदान पाएका हिरण्यकश्यपुलाई नारायणले आधा मानव आधा सिंहको नृसिंह अवतार लिएर साँझको समयमा ढोकामा बसी आफ्नो काखमा राखेर आफ्नै नङ्ग्राले बध गरेका थिए ।
बैशाख शुक्ल चतुर्दशीकै दिनमा नारायणले नृसिंह अवतार लिएको विश्वास गरिन्छ । नृसिंह भगवानको पूजा आराधना गरेमा यश, सुख, शान्ति समृद्धि, पराक्रम, कीर्ति, सफलता पाइने जनविश्वास छ ।
नृसिंहको मन्त्र जप्नाले विघ्नबाधा, भूतप्रेत पिशाच भय, अकाल मृत्यु र असाध्य रोगबाट छुट्कारा पाइने विश्वास गरिन्छ । त्यस्तै नृसिंह भगवानले दैवी प्रकोपबाट मुक्ति दिलाउने विश्वास पनि रहेको छ । त्यसैले पनि भूकम्प जाँदा घुँडाले टेकी हातले भुईँमा थिचेर नरसिंह, नरसिंह भन्ने चलनसमेत छ ।





