
पोखरा । पोखरा महानगरपालिका वडा नं. २६ ले सञ्चालन गरेको सौन्दर्यसम्बन्धी तालिम सकिएको छ । ४५ दिनसम्म सञ्चालन भएको तालिममा ४५ जना सहभागी थिए । तालिम रुपकला व्यूटीपार्लर एण्ड ट्रेनिङ सेन्टरले व्यवस्थापन गरेको थियो ।
तालिम समापन गर्दै वडाध्यक्ष नरेन्द्र थापाले सिप र ज्ञानलाई व्यावसायिकरुपमा प्रयोगमा ल्याउन आग्रह गरे । थापाले महिला दिदी बहिनीकै मागअनुसार सौन्दर्यसम्बन्धी तालिम आयोजना गरिएको बताए ।
लक्षित समूहको बजेटबाट सिप उपयोगी तालिम प्रदान गरिएको भन्दै उनले साबुन बनाउने तालिम पनि जारी रहेको बताए ।
विद्यार्थीका लागि पढ्दै, कमाउँदै कार्यक्रमअन्तर्गत १२ कक्षामा अध्ययनरत ११ जना छात्रालाई बालविकाससम्बन्धी तालिम दिएर प्रशिक्षार्थीका रुपमा विभिन्न विद्यालयमा पठाइएको वडाध्यक्ष थापाले बताए । आगामी बर्ष सिप विकास, कृषि, शिक्षा र स्वास्थ्यमा विशेष बजेट विनयोजन गर्ने स्पष्ट पारे ।
जनप्रतिनिधि लक्ष्मीदेवी भट्टराइको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधि सुजता बराल सुनार, वडासचिव लिलामणि भण्डारी, वडाका सूचना अधिकारी नवराज सापकोटा, कृषि सञ्जालका अध्यक्ष केशवराज ढुंगाना, प्रशिक्षक रुपकला श्रेष्ठ, प्रशिक्षार्थी दीब्या बराल र मुना सापकोटाले बोलेका थिए ।





