
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरुद्ध दायर भएको रिट आगामी सोमबारसम्मका लागि लम्बिएको छ । सर्वोच्च अदालतले अधिकारीबिरुद्धको मुद्धालाई हेर्दाहेर्दै राखेर सोमबारसम्म धकेलेको हो ।
आज सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासमा बहस नसकिएपछि आगामी सोमबारलाई हेर्दाहेर्दै राखिएको हो । यो मुद्धा मंगलबार पनि हेर्दाहेर्दैमा राखेको थियो ।
नेपाली कांग्रेसका तर्फबाट सुरेन्द्र पाण्डेले दायर गरेको रिटमा मुख्यमन्त्री अधिकारीले असंवैधानिक रूपमा विश्वासको मत लिएको जिकिर गर्दै बदरको माग गरिएको छ ।
बुधबार सुरुमा सरकारी वकिलहरूले बहस गरेका थिए भने त्यसपछि मुख्यमन्त्री अधिकारीका तर्फबाट बहस भएको थियो । उनीहरूको बहस सकिएलगत्तै निवेदकको तर्फबाट जवाफी बहस सुरु भएको थियो ।
६० सदस्यीय प्रदेश सभामा विश्वासको मत लिने क्रममा मुख्यमन्त्री अधिकारीलाई सभामुख कृष्णप्रसाद धितालले ३० सिट नै बहुमत भन्दै विश्वासको मत प्राप्त गरेको घोषणा गरेका थिए ।
संविधानअनुसार पूर्ण सदस्य संख्याको बहुमत ३१ हुनेमा ३० सिटको घोषणाले विश्वासको मत पाउन नसक्ने दाबी गर्दै कांग्रेस नेता पाण्डे सर्वोच्च पुगेका हुन् ।





