पत्रकारद्वय हरिहर विरही र श्रीराम सिग्देल पुरस्कृत

पोखरा । नेपाल पत्रकार महासंघ कास्कीले वरिष्ठ पत्रकार हरिहर विरही र कास्कीका पुराना पत्रकार श्रीराम सिग्देललाई पुरस्कृत गरेको छ । महासंघको १७औं साधारणसभा तथा १२औं अधिवेशनका अवसरमा विरही र सिग्देल पुरस्कृत भएका हुन् ।

विरहीले एक लाख एक हजार एक सय ११ रुपैयाँ राशिको ‘कृति स्मृति पत्रकारिता वृत्ति सम्मान र सिग्देलले २० हजार रुपैयाँ राशिको आर्थिक पत्रकारिता पुरस्कार प्राप्त गरे ।

सोही अवसरमा अग्रज पत्रकारहरू शिरोमणि बराल, ज्यो. डा. बलराम उपाध्याय रेग्मी, सुरेन्द्र थापा मगर र विश्वप्रकाश लामिछानेलाई दीर्घ पत्रकारिता सम्मानबाट सम्मानित गरिएको थियो ।

पत्रकार महासङ्घको संस्थागत विकासका साथै समग्र पत्रकारिता क्षेत्रको उन्नयनमा योगदान पुर्याएको भन्दै उनीहरूलाई सम्मान गरिएको हो । पूर्वराष्ट्रपति डा रामवरण यादवले पुरस्कार र सम्मान अर्पण गरेका हुन् ।

कार्यक्रममा अध्यक्ष बिमला भण्डारीको कार्यकालमा उत्कृष्ट कार्यसमिति सदस्यको रुपमा सन्तोष बस्याललाई पुरस्कृत गरिएको थियो ।

सो अवसरमा पूर्व राष्ट्रपति डा. यादवले संविधान र लोकतन्त्र बचाउने जिम्मा मिडियाको भएको भन्दै मिडियाकर्मीले राजनीति माथि उठेर काम गर्नुपर्नेमा जोड दिए ।

संविधानअनुसार स्वतन्त्र प्रेसको मर्मलाई सरकारमा रहेकाहरूले पालना गर्नुपर्नेमा उनले जोड दिए । देशमा संविधान र कानुनअनुसार काम हुनु पर्ने भन्दै डा. यादवले सञ्चार क्षेत्र आफ्नो धर्मअनुसार संविधानको पालनाका लागि अगुवा बन्नुपर्नेमा जोड दिए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले राजनीति र सञ्चार क्षेत्र शंकारहित हुनुपर्नेमा जोड दिए । उनले दुवै क्षेत्र अझै खारिन बाँकी रहेको प्रष्ट पार्दै एकोहोरो रूपमा लाग्दा एक रथका दुई प्रांग्राको रूपमा रहेका दुवै क्षेत्र शंकाको घेरामा पर्ने उनको भनाइ थियो ।

उनले भने, “हामी कानुन र विधिका कुरामा एकताबद्ध भएर जान्छौँ, तर हामीलाई सचेत गराउनैपर्छ । सञ्चार क्षेत्र आवाजविहीनको आवाज माथि उठाउन, बिनापूर्वाग्रह, बिनापक्षधरता व्यावसायिक तरिकाले खरो उत्रनु पर्दछ ।”

कार्यक्रममा गण्डकी प्रदेश सरकारका मन्त्री हरिबहादुर चुमान, पत्रकार महासंघ केन्द्रीय वरिष्ठ उपाध्यक्ष रमेश बिष्ट, पत्रकार महासंघ लेखा समिति संयाजक लेखनाथ न्यौपाने, प्रेस काउन्सिल नेपाल सदस्य अधिवक्ता दुर्गा भण्डारी, युवा व्यवसायी किरण केसी, कास्की कांग्रेसका सभापति किशोरदत्त बराल, राप्रपा कास्की अध्यक्ष नारायण गुरुङलगायतले बोलेका थिए ।

नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीले संघले तीन वर्षको कार्यकालमा श्रमजीवी पत्रकारिताका लागि थुप्रै काम गरेको उल्लेख गरिन् । पत्रकारको क्षमता अभिवृद्धिका लागि तालिमदेखि इ-लाइब्रेरीको स्थापना गरिएको उनले बताइन् । कार्यक्रमको सञ्चालन सहसचिव रेम बिकले गरेका थिए ।

बन्दसत्रले सचिव माधव बरालको सचिवको प्रतिवेदन र कोषाध्यक्ष कृष्ण दवाडीको कोषाध्यक्षको प्रतिवेदन सुझावसहित पारित गरेको छ ।

साथै सभाले सात बुँदे प्रस्ताव पारित गरेको छ । श्रमजीवी पत्रकार ऐन र न्यूनतम पारिश्रमिक ऐन कार्यान्वयन हुनुपर्ने, मिडिया हाउसमा समावेशी सिद्धान्त कार्यान्वयन हुनुपर्ने, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा हुनुपर्ने, पोखरा पर्यटकीय राजधानी बने पनि विकास निर्माणमा जोड, साना सञ्चारगृह बचाउनुपर्ने लगायत प्रस्ताव पारित गरेको हो । श्याम कुँवर संयोजक रहेको प्रस्ताव लेखन समिति सदस्यमा प्रकाश ढकाल, घनश्याम पाण्डे र लीना गुरुङ थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button