खानेपानी संस्थानका कर्मचारीलाई लिकेज पत्ता लगाउने र मर्मत गर्ने तालिम

पोखरा । नेपाल खानेपानी संस्थान पोखराले पानी लिकेज पत्ता लगाउने र मर्मत गर्ने तालिमलाई निरन्तरता दिएको छ । जापान सरकार जापानिज सहयोग संस्था जाईकाको प्राविधिक सहयोगमा भएको तालिम पश्चात संस्थानले शाखामा कार्यरत सबै तहका प्राविधिक कर्मचारीलाई निरन्तर तालिम प्रदान गरेको हो ।

तालिमका मुख्य प्रशिक्षक नेपाल खानेपानी संस्थान पोखरा शाखाका कार्यालय प्रमुख ई. आशिष कार्कीले तालिमबाट सिकेको सीपलाई फिल्डमा सदुपयोग गर्न निर्देशन दिए ।

पोखराको भूवनोट र पानीको पाइपलाईन विस्तार जमीन भित्र हुने भएकाले पानी लिक हुँदा पत्ता लगाउन लाग्ने धेरै समय अब उपकरणसहितको टोलीलाई सहज भएको प्रमुख कार्कीको भनाई थियो ।

कार्यालय प्रमुख कार्कीले लिसनिङ स्टिक, वाटर लिंक डिटेक्टर र कोरिलेटर टाइप वाटर लिंक डिटेक्टर प्रविधिको माध्यमबाट ग्राउन्ड वाटर लिंक पत्ता लगाउन सहज हुने बताए ।

प्रमुख कार्कीले प्रविधि युक्त मेशिनको माध्यमबाट लिक मर्मत कार्यलाई थप सजिलो बनाउने भएकाले हालको अवस्थाको पानी चुहावटलाई नियन्त्रण गर्न सकिने बताए ।

तालिमलाई सव–इन्जिनियर सुरेन्द्र साहले सहजीकरण गरेका थिए । पोखरा शाखा पार्दी र विन्ध्यवासिनी इकाई कार्यालयमा कार्यरत कर्मचारीको सहभागी थिए ।

तालिममा पोखरा शाखामा कार्यरत कर्मचारी लक्ष्मण पराजुली, बेदप्रसाद शर्मा, ज्ञानु अधिकारी, अशोक सापकोटा, माधव केसी, हरि थापा, मोहन केसी, शिव पौडेल, बिनोद नेपाली, लिलानाथ गौतम, सूर्य अधिकारी, लक्ष्मण श्रेष्ठलगायत कर्मचारी सहभागी थिए ।

तालिमले पोखरा शाखाअन्तर्गत विस्तार भएका पाइप लाईनमा हुने लिक तथा पानी चुहावटलाई प्रभावकारी मर्मत गर्न थप टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ ।

सहभागीलाई पानी परीक्षण तालिमसमेत दिइएको छ । संस्थानले उत्पादन गरेको पानी ल्यावमा निरन्तर परीक्षण गरिने जनाएको छ ।

पानी परीक्षण तालिममा सहभागी कर्मचारीले पानीको धमिलो पाना, पिएच, पानीको वहाव क्षमता तथा पिउन योग्य सहज तरिकाले पत्ता लगाउने ज्ञान भए पनि प्राक्टिकल्ली नभएको अवस्थामा ढुक्क नहुँदा तालिम पछि उपभोक्तालाई स्वच्छ पिउने पानी वितरण गर्न सहज भएको बताएका थिए ।

नेपाल खानेपानी संस्थानले उपभोक्ताको हितमा स्वच्छ पिउने पानी वितरण गर्न निरन्तर प्रयास गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button