
पोखरा । पोखरा महानगर प्रमुख धनराज आचार्यले सामाजिक सञ्जालको व्यवस्थित र मर्यादित सञ्चालनका लागि नियमन जरुरी रहेको बताएका छन् । सामाजिक सञ्जालको बढ्दो प्रभावका बिच यसको सदुपयोग र जीवनशैलीसँग जोड्ने कुरा महत्वपूर्ण हुने उनले स्पष्ट पारे ।
पोखरा महानगर युवा परिषद्द्वारासामाजिक सञ्जाल प्रयोगकर्ताका लागि आयोजित एक दिवसीय सचेतनामूलक कार्यक्रममा नगर प्रमुख आचार्यले सामाजिक सञ्जालको प्रभाव दिनानुदिन बढ्दोक्रममा रहेको स्पष्ट पारे ।
सामाजिक सञ्चाल मानव जीवनको अपरिहार्य अवयव जस्तो बनिसकेको भएपनि यसको सदुपयोगिता र सकारात्मक प्रभावका विषयमा भने चर्चा गर्न आवश्यक रहेको उनले बताए ।
सामाजिक सञ्जालको दुरुपयोग नहुँदा सिंगो समाजमा नकारात्मक प्रभाव र भ्रम सृजना हुने भएकाले सचेत रहन आवश्यक रहेको आचार्यले स्पष्ट पारे ।
सामाजिक सञ्जाल नयाँ सिकाइ र नवप्रवर्तनका लागि पाठशाला भएको उल्लेख गर्दै उनले यसलाई समयमा नै चिन्न र जान्न सके जीवनका सकारात्मक ऊर्जा र सफलता प्राप्त गर्न सकिने बताए ।
कतिपय अवस्थामा सामाजिक सञ्जाललाई अपराधको अर्को सजिलो हतियारका रूपमा समेत लिने गरेको पाइएको भन्दै उनले राज्यको तहबाट नियमन गर्न जरुरी रहेको बताए ।
बिना कारण कतिपय व्यक्ति वा समूह सामाजिक सञ्जालको सिकार हुनुपरेको भन्दै उनले यसको दुरुपयोग रोक्नुपर्नेमा जोड दिए ।
‘सामाजिक सञ्जाल आधुनिक मानिसका लागि नयाँ जीवन बन्न पुगेको छ । यसलाई व्यवस्थित ढंगले सञ्चालन गर्ने हो भने यो २१औँ शताब्दीका मानिसका लागि वरदान नै हो । हिजोको जस्तो कठिनताको विकल्पका रूपमा विकसित सामाजिक सञ्जालको उपयोग सकारात्मक, रचनात्मक र विवेकपूर्ण तवरले गर्नुपर्दछ’, नगर प्रमुख आचार्यले भने ।
पोखरा महानगरका प्रवक्ता मोतीलाल तिमिल्सनाले युवाको मानसिकता र दृष्टिकोण निर्माणमा सामाजिक सञ्जालको महत्वपूर्ण भूमिका रहेको बताए ।
युवाहरू इन्फरमेसन र डिसइन्फर्मेसनबाट बचाउन निकै चुनौतीपूर्ण रहेको भन्दै उनले यसको आवश्यक ज्ञान तथा जानकारीका लागि यस प्रकारको कार्यक्रम निकै प्रभावकारी हुने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ कास्कीकी अध्यक्ष विमला भण्डारी, जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्मा र आइटीका जानकार विश्वराज पौडेलले सामाजिक सञ्जाल प्रयोगबारे युवासँग चर्चा परिचर्चा र परिसंवाद गरेका थिए ।
सामाजिक सञ्जाल सञ्चालन, चुनौती र सम्भावनाबारे एक सय ५० युवाको सहभागितामा अभिमुखीकरण कार्यक्रम गरिएको परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष न्यौपानेले जानकारी लिए ।
सूचना प्रवाहमा सामाजिक सञ्जालको ठूलो योगदान भएपनि पछिल्लो समय भ्रामक खबरले बढी स्थान पाइरहेको अवस्थामा सामाजिक सञ्जालका फाइदा र बेफाइदाबारे युवासँगै चर्चा परिचर्चा गरिएको उपाध्यक्ष न्यौपानेले बताए ।





