
पोखरा । पोखरामा शनिबार लगानी कार्यशाला सम्पन्न भएको छ । पोखरा उद्योग वाणिज्य संघसँग सहकार्य गरेर पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा अन्तर्गतको व्यवसाय प्रवद्र्घन केन्द्रले सो कार्यशाला आयोजना गरेको हो ।
कार्यक्रम उद्घाटन गर्दै पोखरा महानगरका प्रवक्ता मोतिलाल तिमिल्सिनाले लगानीका नयाँ सम्भावना पहिचान गरी निजी क्षेत्रसँगै साँझेदारी गर्न महानगरपालिका तयार रहेको स्पष्ट पारे ।
नेपाल कृषि प्रधानमात्र नभएर पर्यटन प्रधान देशको रुपमा विकास हुँदै गएको भन्दै उनले नयाँ पुस्तालाई सँगै जोडेर सूचना प्रविधि क्षेत्रमार्फत अवसरको नयाँ सम्भावना खोज्ने अहिलेको आवश्यकता भएको बताए ।
कार्यक्रममा सहरी योजना आयोग पोखराका सदस्य डा होमनाथ गैरेले पोखरामा व्यवसायिक वातावरण तथा लगानीको सम्भाव्यताबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।
पोखरामा स्वेच्छिक बेरोजगार ४१ प्रतिशत र चार प्रतिशतमात्र आर्थिकरुपमा निष्क्रिय रहेको भन्दै पोखरेलीको क्रयशक्ति अन्य सहरको तुलनामा माथि रहेको बताए ।
स्वेच्छिक बेरोजगारका कारण आफूले चाहेजस्तो लगानीमैत्री वातावरण वा आकर्षक जागिर खोजिरहेको हुन सक्ने बताए ।
कार्यक्रममा अध्यनत फण्ड म्यानेज्मेन्ट लिमिटेडका प्रतिनिधि निश्चलजंग भण्डारी, निक्षेप तथा कर्जा सुरक्षण कोष पोखरा शाखा प्रमुख जीवन सापकोटालगायतले कर्जा र लगानी व्यवस्थापनमा संस्थाले गर्दै आएको कामका बारेमा बोलेका थिए ।
पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विवेक श्रेष्ठले स्वागत र व्यवसाय प्रवद्र्घन केन्दका कार्यकारी निर्देशक नवराज अधिकारीले सञ्चालन गरेका थिए ।
कार्यक्रममा पोखरा आइडिया मार्टबाट छनोटमा परेका १० प्रतिस्पर्धी टोलीले आफ्नो योजनाबारे संक्षिप्त जानकारी गराएका थिए ।





