
गुयाना । आईसीसी टी-२० विश्वकपमा वेस्टइन्डिजले विजयी सुरुआत गरेको छ । सहआयोजक राष्ट्र वेस्ट इन्डिजसँग पपुवा न्यूगिनी (पीएनजी) पाँच विकेटले पराजित भएको हो ।
जितका लागि एक सय ३७ रनको लक्ष्य पाएको वेस्टइन्डिजले १९ औँ ओभरमा पाँचौँ विकेटको क्षतिमा पछ्यायो । रोस्टन चेसले नटआउट रहँदै २७ बलमा ४२ रन तथा आन्द्रे रसलले नटआउट रहेर नौ बलमा १५ रन बनाउँदै वेस्ट इन्डिजलाई जित दिलाए । चेसले आफ्नो इनिङ्समा चार चौका र दुई छक्का प्रहार गरे ।
टोलीका लागि ब्रान्डन किंगले २९ बलमा ३४ रन तथा निकोलस पुरनले २७ बलमा २७ रन जोडे । कप्तान रोभमन पावेलले १५ रनको योगदान दिए ।
बलिङमा राम्रो चुनौती प्रस्तुत गरेको पीएनजीका लागि कप्तान असद भालाले दुई विकेट लिए भने अलेई नाओ र चाद सोपर र जोन कारिकोले एक-एक विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ३६ रन बनाएको थियो ।
टोलीका लागि सेसे बाउले अर्धशतकीय इनिङ्स खेले । उनले ४३ बलमा ५० रन जोडे । यसक्रममा उनले छ चौका र एक छक्का हिर्काए ।
यस्तै, किपलिन डोरिगाले १८ बलमा २७ रन बनाए भने कप्तान असद भालाले २२ बलमा २१ रनको योगदान दिए । चाल्र्स अमिनीले १४ बलमा १२ रन बनाए भने चाड सोपरले १० रन जोडे ।
वेस्टइन्डिजका लागि आन्द्रे रसल र अल्जारी जोसेफले दुई-दुई विकेट लिए । अकिल होसेन, रोमारियो सेफर्ड र गुडाकेस मोतीले एक-एक विकेट हात पारे ।
आइतबार बिहान भएको पहिलो खेलमा अमेरिकाले क्यानडालाई सात विकेटले पराजित गरेको थियो ।





