पोखरा । पोखराको प्रमुख धार्मिक पर्यटकीय गन्तव्य पुम्दीकोटमा सिसाको पुल र मोनोरेल बनाइने भएको छ ।
कैलाश पर्वतबाट सुमेरु पर्वतसम्म पुग्न करिब तीन सय मिटर लामो सिसाको पुल निर्माण र चौतारोबाट महादेवको मूर्तिसम्म पुग्न वृद्ध, अशक्त, असहायका लागि मोनोरेल बनाउने योजना अघि सारिएको पुम्दीकोट कोट विकास समितिले जनाएको छ ।
समितिको हालै सम्पन्न चौथो साधारणसभाले यसका लागि आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । दुवै संरचना दुई वर्षभित्र बनाइसक्ने गरी अघि बढेको समितिका अध्यक्ष चन्द्रकान्त बरालले जानकारी दिए । पुल र मोनोरेल बनाउने जिम्मा निजी क्षेत्रलाई दिइने उनले बताए ।
अध्यक्ष बरालका अनुसार यी दुई संरचना निर्माणपछि डाँडामा हनुमान र अर्कोमा शक्तिदेवीको मूर्ति बनाउने योजना छ ।
साँझमा लेजर लाइटमार्फत महादेवको मूर्तिलाई पर्दा बनाई शिव ताण्डव नृत्य र महादेवको जीवन लीलासहितको वृत्तचित्र प्रस्तुत गर्ने योजनासमेत छ । यसले पोखरा आउने पर्यटकको कम्तीमा एक दिन बसाइँ लम्ब्याउने उनको विश्वास छ ।
पुम्दीकोटमा हालसम्म ५१ फिट अग्लो महादेवको मूर्ति, ३१ फिट अग्लो विशाल डमरु, महादेवको विशाल क्षेत्र कुण्ड (गंगापोखरी), एक सय आठ धाराजडित तेस्रो आँखा निर्माण सम्पन्न भइसकेको छ ।
समितिका व्यवस्थापक रुद्र पौडेलका अनुसार दुई सय १६ शिवलिंग, एक सय आठ स्वर्गद्वारी सिंढी, शिव ताण्डव नृत्य तथा अन्तर्राष्ट्रिय ध्यान केन्द्र, भगवान् श्रीगणेशद्वारा परिक्रमा गरिरहने मोनोरेल, सुमेरु पर्वतमा कुमार पार्वतीको मूर्ति, शौचालयसहित सुविधासम्पन्न प्रशासनिक भवन, फूलमाला बिक्रीका लागि ४१ सटर, कम्पाउड बाल, २ सय मिटर पक्की पहुँचमार्ग लगायत संरचना निर्माण सम्पन्न भइसकेको छ ।
पशुपतिनाथको प्रतिमूर्ति झल्कने स्वर्गद्वारी गेट र भक्तपुरे झ्यालसहितको पार्किङ गेटसँगै दानदाताको शिला स्तम्भ निर्माणको काम अन्तिम चरणमा पुगेको उनले बताए । पुम्दीकोटमा दैनिक एक हजार पाँच सयदेखि चार हजारसम्म मानिस पुग्ने गरेका छन् ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution