
पोखरा । पोखरा महानगरपालिका वडा नं. १ लामपाटन मार्गस्थित अभियान महिला समूहका सदस्यले मादल, खैजडी र मुजुरा बजाउनका लागि सीपमूलक तालिम लिएका छन् ।
वडा कार्यालयको सहयोगमा समूहमा आबद्ध ३५ जना सदस्यले तालिम लिएका हुन् ।
पाँच दिनसम्म सञ्चालन भएको तालिममा सहभागीलाई रुद्र सुवेदी च्वाईले खैजडी र मुजुरा, सुनिता पौडेलले मादल बजाउने सँगै अन्य विविध विषयमा सहजीकरण गरेको समूहकी अध्यक्ष सरस्वती रिमालले जानकारी दिइन् ।
सीप सिकाैँ आत्मनिर्भर बनौँ सँगै मौलिक कला संस्कृतिको संरक्षण र जगेर्ना गरौँ भन्ने उद्देश्यसहित तालिम आयोजना गरिएको अध्यक्ष पौडेलले बताइन् ।
हराउँदै गएका पुराना लोकबाजाहरुको संरक्षण गर्ने उद्देश्यसमेत तालिमको रहेको आयोजक समूहकी उपाध्यक्ष गंगादेवी पौडेलले जानकारी दिइन् ।
तालिम लिएका समूहका सदस्यले विवाह, ब्रतवन्ध एवं टोल छिमेकमा हुने विभिन्न किसिमका सांस्कृतिक कार्यक्रममा सहभागिता जनाउन सहयोग पुग्ने भनाइ उनको छ ।
नयाँ पुस्तालाई आफ्नो मौलिक बाजा चिनाउन र बजाउन सिकाउनसमेत तालिमले सहयोग गरेको समूहकी सदस्य सावित्री पराजुलीले बताइन् ।
आफ्नो नेपाली मौलिक बाजा चिनाउने र यसको महत्वबारे परिवारका नयाँ पुस्तालाई जानकारी दिने काममा समेत तालिमले सहयोग पुर्याएको भनाइ उनको छ ।





