आज विश्व वातावरण दिवस मनाइँदै

  • पोखरा न्यूज
  • २०८१ जेष्ठ २२
आज विश्व वातावरण दिवस मनाइँदै

पोखरा । ‘हाम्रो भूमि, हाम्रो भविष्य’ भन्ने राष्ट्रिय नाराका साथ आज विश्व वातावरण दिवस मनाइँदै छ ।

संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आह्वानमा हरेक वर्ष जुन ५ तारिखमा यो दिवस विश्वभर मनाउने गरिन्छ । सन् १९७३ देखि विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो ।

यस अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा पूर्वाधार विकास गर्दा दिगो विकासका अवधारणालाई आत्मसात् गर्दै वातावरण संरक्षणको साझा लक्ष्यमा अघि बढ्न प्रेरणा मिलोस् भन्ने शुभकामना दिएका छन् ।

राष्ट्रपति पौडेलले जारी गरेको शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन् ।

वातावरण संरक्षण तथा सुधारका लागि नेपालले अवलम्बन गरेको राष्ट्रियस्तरका वन, वातावरण तथा जलवायु परिवर्तन नीतिहरूबाट निर्देशित विभिन्न कार्यक्रमले वन तथा वातावरणको क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल भएको उनले उल्लेख गरे ।

यता, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्व वातावरण दिवसका अवसरमा प्रकृति र वातावरण संरक्षणको साझा लक्ष्यमा अघि बढ्न प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीले मरुभूमिकरण र खडेरीबाट भूमिको पुनःस्थापना गरी पारिस्थितिक प्रणाली पुनःस्थापना गर्ने विषयमा केन्द्रित रहेको यस दिवसले जलवायु परिवर्तनका असरलाई न्यूनीकरण गर्न तथा वर्तमान र भविष्यका पुस्ताका लागि दिगो र स्वच्छ वातावरण प्रत्याभूत गर्न थप उत्प्रेरित गर्ने विश्वास व्यक्त गरे । उनले नेपालको संविधानले प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने मौलिक हकको प्रत्याभूति गरेको उल्लेख गरे ।

यस अवसरमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायण प्रसाद दाहाल, गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले शुभकामना व्यक्त गरेका छन् ।



पोखरा सेरोफोरो

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस