नेपाल १०६ रनमै अलआउट

पाेखरा। टी-२० विश्वकप क्रिकेटको पहिलो खेल जितका लागि नेपालले नेदरल्याण्ड्सलाई १०७ रनको झिनो चुनौती दिएको छ ।

अमेरिकाको डालास मैदानमा भइरहेको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै १९.२ ओभरमा अलआउट हुँदै १०६ रनमात्र बनाउन सक्यो ।

नेपालका लागि टी-२० विश्वकपको इतिहासकै सबैभन्दा कान्छा २१ वर्षीय कप्तान रोहित पौडेलले ३७ बलमा ३५ रन बनाएर आउट भए ।

५ चौका प्रहार गर्दै सम्हालिएर खेल्दै आएका रोहित गलत प्रहारका कारण पभेलियन फर्किनुपर्यो । उनले व्यक्तिगत २ रन बनाउँदा अम्पायरले आउट दिएको भए पनि रिभ्यु लिएर बचेका थिए ।

करण केसीले १२ बलमा २ छक्काको मद्धतले १७, गुल्सन झाले १५ बलमा १ छक्काको मद्धतले १४ रन बनाए ।

त्यस्तै अनिल साह १२ बलमा ११, कुशल मल्ल ९ बलमा ९ कुशल भुर्तेल १० बलमा ७ तथा आसिफ शेख ८ बलमा ४ रन बनाएर आउट भए । त्यस्तै दिपेन्द्र सिंह ऐरी ६ बलमा १ रन बनाएर आउट भए ।

सन् २०१४ को विश्वकप खेलेका एकमात्र खेलाडी रहेको यो टिमका अनुभवी खेलाडी सोमपाल कामी भने ६ बलमा रनको खाता नै नखोली आउट भए । सागर ढकाल पहिलो बलमै डकआउट भए ।

नेदरल्याण्ड्सका लागि टिम प्रिंगल र लोगान भान बीकले समान ३-३ तथा पल भान मिकेरेनले र बास डे लिडे २-२ विकेट लिए ।

मैदानमा १५ हजार अमेरिकामा रहेका नेपालीले नेपालको खेल हेरेका थिए ।

समूह डीमा रहेको नेपाल र नेदरल्याण्ड्स विश्वकपमा पहिलो पटक आमने सामने भइरहेका हुन् ।

अहिलेसम्म आपसमा भएका टी-२० मा नेदरल्याण्ड्सले ६ तथा नेपालले ५ खेल जितेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button