आजको मौसम : चार प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षा, हुरीबतासको सम्भावना

  • पोखरा न्यूज
  • २०८१ जेष्ठ २४
आजको मौसम : चार प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षा, हुरीबतासको सम्भावना

पोखरा । मुलुकमा स्थानीय र पश्चिमी वायुसँगै भारतको उत्तर प्रदेशदेखि पूर्वी बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको तथा कोशी र बाग्मती प्रदेशका केही स्थान र अन्य प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । गण्डकी, कोशी, मधेस र बाग्मती प्रदेशका केही स्थानमा तथा बाँकी भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

विभागले आज बिहान जारी गरेको सूचना अनुसार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी र कोशी प्रदेशका एक-दुई स्थानमा हुरीबतासको पनि सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

यसैगरी आज राति कोशी, वाग्मती र गण्डकी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहने छ । कोशी, बाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

आगामी २४ घण्टामा गण्डकी, कोशी, मधेस र बाग्मती प्रदेशका केही स्थान तथा देशका बाँकी भेगका एक-दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना विभागको सूचनामा उल्लेख छ ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र कोशी प्रदेशका एक-दुई स्थानमा हुरीबतासको पनि सम्भावना रहेकोले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस