
पोखरा । पोखराको फुस्रेखोलामा डुबेर फेरि एक युवकको ज्यान गएको छ ।
मृत्यु हुनेमा पर्वत जिल्ला कुश्मा नगरपालिका वडा नं. १३ घर भई हाल पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटन बस्ने २८ बर्षीय विश्वास सुवेदी छन् ।
पोखरा १७ छोरेपाटन नजिकै फुस्रेखोलामा शनिबार पौडी खेल्नेक्रममा डुबेर सुवेदीको मृत्यु भएको हो ।
खोलामा पौडी खेल्नेक्रममा सुवेदी बेपत्ता भएका थिए । उनको सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गणबाट गएको टोलीले खोजी गर्दा शव भेटिएको हो । सुवेदी दिउसो बेपत्ता भएकाे भएपनि शव साँझ करिब ७ बजे भेटिएको हो ।
विशेष खोज, उद्वार एवम् गोताखोर टोली तत्कालै परिचालित भई फुस्रेखोलाको २५ फिट गहिराईमा शव अड्किएर बसेको अवस्थामा सशस्त्रले निकालेको हो ।
सुवेदीको शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको कालिका गणका गणपति एसपी अरुणकुमार शर्माले जानकारी दिए ।





