
पोखरा । धादिङ त्रिपुरा बाराही महिला समूहद्वारा आयोजित लैंगिक हिंसाबिरुद्ध पुरुषको ऐक्यवद्धता तथा महिला पुरुष समचेतना कार्यक्रम सम्पन्न भएको छ । पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रम उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य देवका पहारीले सबै क्षेत्रमा महिलाको सम्मानजनक उपस्थिति र सहभागिता सुनिश्चित भएमात्रै महिलामाथि हुने हिंसाको अन्त्य हुने दावी गरिन् ।
‘लैंगिक हिंसा व्यक्ति वा परिवारको मात्रै समस्या होइन । यो हाम्रो राजनीतिक प्रणाली, सामाजिक संरचना र देशले अवलम्बन गर्ने सबै खाले नीतिसँग गासिएको छ । सबै क्षेत्रमा महिलाको सम्मानजनक उपस्थिति र सहभागिता सुनिश्चित भएमात्रै हामीले महिलामाथि हुने सबै खाले हिंसाको अन्त्य गर्न सक्नेछौँ,’ सांसद पहारीले भनिन् ।
पोखरा-६ महिला सञ्जालकी वरिष्ठ उपाध्यक्ष शान्ति पहारी लैंगिक हिंसा न्यूनीकरण गर्न चेतनाको विकास गरी हरेक जनस्तरमा जागरुकता फैलाउन आवश्यक रहेको बताइन् ।
कार्यक्रममा पोखरा-६ स्थित महिला समूह, टोल विकास संस्थाका साथै सामुदायिक प्रहरी सेवा केन्द्रका प्रतिनिधि सहभागी थिए ।

कार्यक्रममा सहभागी ७१ जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी वरिष्ठ नायव निरीक्षक होतबहादुर रोकाहा र अधिवक्ता आकृति पण्डितले प्रशिक्षण दिएका थिए ।
प्रशिक्षकद्वय रोकाहा र पण्डितले लैंगिक हिंसा, लैंगिक हिंसाका प्रकार, हिंसाबाट पीडित हुने व्यक्तिहरु, यो हिंसा न्यूनीकरणका लागि राज्यले गरेको व्यवस्था, लैंगिक हिंसा न्यूनीकरण र कानून प्रावधानका बारेमा जानकारी गराएका थिए ।
समूहकी अध्यक्ष बबीता मल्लले लैंगिक हिंसाबारे पुरुष र महिला दुवैलाई बुझाउन आवश्यक देखिएकाले समचेतना कार्यक्रम आयोजना गरिएको बताइन् ।
समूहकी अध्यक्ष मल्लको अध्यक्षतामा भएको कार्यक्रममा द्वितीय उपाध्यक्ष विन्दा धरेलले स्वागत र सचिव रचना अधिकारीले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।





