
पोखरा । पोखरा महानगरपालिकाको न्यायिक समितिले संवैधानिक व्यवस्था, गठन प्रक्रिया र अधिकार क्षेत्रका बारेमा जानकारी गराउने उद्देश्यले विभिन्न कार्यक्रम जारी राखेको छ । समितिले विभिन्न संघसंस्थासँग मिलेर कार्यक्रम सञ्चालन गरिरहेको छ ।
प्रेस क्लब गण्डकीले आइतबार ‘न्यायिक समितिसँग विद्यार्थी’ कार्यक्रमअन्तर्गत पोखराको सिमलचौरस्थित जनप्रिय बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई न्यायिक समितिको बारेमा जानकारी गराइएको हो ।
सो अवसरमा पोखरा महानगरपालिकाकी उपप्रमुख एवं न्यायिक समिति संयोजक मञ्जुदेवी गुरुङले स्थानीय तहका विवाद स्थानीय तहबाटै समाधान गर्दा समय र पैसा दुवै जोगिने बताइन् ।
उनले नागरिकका सेवा र सुविधाका लागि संविधानमा न्यायिक समितिको परिकल्पना गरिएकाले नागरिकलाई यसको बारेमा जानकारी गराउन वार्षिक कार्यक्रममा समावेश गरेर सञ्चालन गरिएको स्पष्ट पारिन् ।
उनले भनिन्, “स्थानीय विवाद अदालत पुुग्ने अवस्थाले समय र पैसा दुवै खर्च हुने भएकाले सहजरुपमा न्याय पाउने उद्देश्यले उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय न्यायिक समितिको व्यवस्था गरिएको हो ।”

कार्यक्रमका पोखरा-८ का अध्यक्ष रुद्रनाथ बरालले न्यायिक समितिले उत्कृष्ट रुपमा न्याय सम्पादनको काम गरिहेको बताए । उनले समितिको आफ्नो काम, कर्तव्य र अधिकारका बारेमा जानकारी गराउँदा नागरिकमा प्रचार हुने बताए ।
प्रेस क्लब गण्डकीका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रिय क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छे, निमित्त क्याम्पस प्रमुुख रमेशबहादुर खड्का, प्रेस क्लब गण्डकीका सचिव गौरव त्रिपाठी, कोषाध्यक्ष राजु गिरी लगायतले बोलेका थिए ।
कार्यक्रममा न्यायिक समिति सदस्य कालिदास पोखरेलले न्यायिक समितिको गठन प्रक्रिया, न्यायिक समिति सदस्य रजनी परियारले अधिकार क्षेत्र र न्यायिक समितिका मेलमिलाप सहजकर्ता सोम लम्सालले मेलमिलापकर्ता सूचीकृृतको प्रक्रिया, आचारण र योग्यताको बारेमा लागि आवश्यक योग्यता बारेमा प्रशिक्षण दिएका थिए ।





