
पोखरा । गण्डकी प्रदेश सरकारका नवनियुक्त मन्त्रीद्वय राजीव गुरुङ (दीपक मनाङे) र फणिन्द्र देवकोटाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सभाकक्षमा आयोजित एक समारोहकाबीच गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले उनीहरूलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् ।
गुरुङले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
उनले यसअघि पनि मन्त्रीको जिम्मेवारी सम्हालिसकेका थिए । साथै मन्त्री देवकोटाले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
योसँगै गण्डकी प्रदेश सरकार पाँच सदस्यीय बनेको छ । मुख्यमन्त्री पाण्डेको मन्त्रिपरिषद्मा विन्दुकुमार थापा सामाजिक विकास मन्त्री र डा. टेकराज गुरुङ अर्थमन्त्री छन् ।
सो समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, सभामुख कृष्णप्रसाद धिताल, प्रदेश सरकारका मन्त्री, उच्चपदस्थ अधिकारीलगायत सहभागी थिए ।
राजीव गुरुङ र फणिन्द्र देवकोटाले विश्वासको मत दिँदा पाण्डेले प्रदेशसभामा बहुमत सिद्ध गर्दै आफ्नो सत्ता जोगाउन सफल भएका थिए ।
पाण्डेलाई राप्रपालेसमेत साथ दिएको भएपनि राप्रपाका तर्फबाट मन्त्री बनाइएको छैन । स्रोतका अनुसार राप्रपाका सांसदले रोजेको मन्त्रालयमा मन्त्री नियुक्त भइसकेकाले समस्या निम्तिएको हो ।





