
धादिङ । धादिङको गल्छी गाउँपालिका वडा नं. २ स्थित कल्लेरी माविमा विद्यार्थीका लागि पोशाक र छात्रवृत्ति वितरण एवं शैक्षिक पात्रो विमोचन गरिएको छ ।
विद्यालयमा मंगलबार आयोजित कार्यक्रममा प्रमुख अतिथि गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडाले कल्लेरी मावि गाउँपालिकाकै उत्कृष्ट विद्यालय भएको बताए ।
उनले विद्यालयको गरिमालाई थप उचाईमा पुर्याउने गरी शैक्षिक गतिविधि अघि बढाउन आग्रह गर्दै विद्यालयको प्रत्येक गतिविधिमा सघाउन गाउँपालिका तयार रहेको प्रतिवद्धता जनाए ।
गाउँपालिका उपाध्यक्ष भाइकाजी तिवारीले विद्यालयबाट उत्पादित विद्यार्थीहरु राज्यका विभिन्न निकायमा पुगेको भन्दै विद्यालयलाई थप गतिशील बनाउन सबैले साथ दिनुपर्ने बताए ।

विद्यालयका शिक्षक-अभिभावक संघका अध्यक्ष एवं पोखराका व्यवसायी राजु तुलाधरले विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नका लागि आफूहरु सहयोग गर्न तयार रहेको स्पष्ट पारे । उनले विभिन्न क्षेत्रका दाताको सहयोगमा धादिङ-पोखरा सम्पर्क समाजमार्फत सात लाख ८५ हजार रुपैयाँको अक्षयकोष स्थापना गरिएको बताए ।
कार्यक्रममा गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष उपाध्यक्ष राधा तिमिल्सिना, गल्छी-२ का वडाध्यक्ष षडानन्द खनाल, वडा नं. ३ का वडाध्यक्ष राजन भुजेल, विद्यालयका प्रधानाध्यापक पुनेश खतिवडा, गाउँपालिकाका शिक्षा अधिकृत धिरज बस्नेतलगायतले बोलेका थिए ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष देवमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व प्रधानाध्यापक ध्रुव प्रसाद खतिवडाले स्वागत र शिक्षक लिलाबहादुर विकले कार्यक्रम सञ्चालन गरेका थिए ।
कार्यक्रममा धादिङ-पोखरा सम्पर्क समाजले केही महिना अघि घोषणा गरेको अक्षयकोषको रकम सात लाख ८५ हजार रुपैयाँ हस्तान्तरण गरिएको थियो ।
उक्त रकम पोखराका व्यवसायी तथा समाजका आजीवन सदस्य राजु तुलाधरमार्फत हस्तान्तरण गरिएको हो ।
अक्षयकोष रकम समाजका वरिष्ठ उपाध्यक्ष सरस्वती श्रेष्ठ सरुको संयोजकत्वमा संकलन गरिएको थियो ।





