पोखरा । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी कार्यकक्षमै थुनिएकी छन् ।
नयाँ सदस्यताका लागि फाराम भरेर केन्द्रबाट स्वीकृत भएर नाम नआएपछि असन्तुष्ट पत्रकारहरुले तालाबन्दी गरेपछि अध्यक्ष भण्डारी कार्यकक्षमै थुनिएकी हुन् ।
महासंघकी कार्यालय सचिव प्रमिशा सिलवाल पनि भित्रै थुनिएको बताइन्छ ।
योसँगै महासंघको गण्डकी प्रदेश कार्यालयमा पनि ताला लागेको छ । असन्तुष्ट पत्रकारहरुले अघि विभिन्न माग राखेर ज्ञापनपत्र बुझाएका थिए ।
असन्तुष्ट पत्रकारहरुले अध्यक्ष भण्डारीसँग बाहिर निस्केर सहजीकरण गरिदिन साढे दुई घण्टासम्म आग्रह गरेको तर अध्यक्ष भण्डारीबाट बेवास्ता गरेपछि बाध्य भएर तालाबन्दी गरेको पत्रकार अनुप पौडेलले बताएका छन् ।
पत्रकार पौडेलले भने, ‘अन्ततः नेपाल पत्रकार महासंघ कास्की र गण्डकीमा तालबन्दी भएको छ । बाहिर निस्केर सहजीकरण गरिदिन साढे दुई घण्टासम्म आग्रह गर्दा पनि अध्यक्षज्यूले बेवास्ता गर्नुभयो । पटकपटक आग्रह गर्दा पनि अटेर गरेपछि अध्यक्ष विमला भण्डारी र कार्यालय सचिव प्रमिशा सिलवाल महासंघभित्र रहनुभयो । हामी थप सशक्त ढङ्गले अगाडि बढ्ने छौँ ।’
यता अध्यक्ष भण्डारीले महासंघको केन्द्रीय समितिले टुंगो लगाउनै लागेको विषयमा अनावश्यक हल्ला गरिएको बताएकी छन् ।
उनले पत्रकार महासंघमा सदस्य नै नभएका व्यक्तिले तालाबन्दी गर्नु राम्रो विषय नभएको बताइन् ।
उनले भनिन्-सदस्यताको विषय केन्द्रले टुंग्याउने हो । मेरो क्षेत्राधिकारभित्र पर्दैन । उनीहरुका माग मैले चाहेर पनि संवोधन गर्न सक्दिन ।
यता, अधिकांश पत्रकारहरुले अध्यक्ष र कार्यालय सचिवलाई भित्रै राखेर तालाबन्दी गर्नु राम्रो नभएको प्रतिक्रिया दिएका छन् । उनीहरुले छलफलका माध्यमबाट समस्या समाधानमा लाग्न आग्रह गरेका छन् ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution