विश्वकप क्रिकेट : नेपाल सुपरएटमा छनोट हुन असफल

पोखरा । नेपाल टी-ट्वान्टी विश्वकप क्रिकेटको सुपर एटमा छनोट हुन असफल भएको छ । आज सम्पन्न तेस्रो खेलमा दक्षिण अफ्रिकासँग १ रनले पराजित भएसँगै नेपाल उपाधि होडबाट बाहिरिएको हो ।

नेपालले अब अन्तिम खेल बंगलादेशसँग खेल्नेछ । समूह डीबाट दक्षिण अफ्रिका यसअघिका ३ वटै खेल जितेर सुपर एटमा पुगिसकेको छ भने नेपाल र श्रीलंका बाहिरिएका छन् । पहिलो खेलमा नेदरल्याण्डसँग हार बेहोरेको थियो भने श्रीलंकासँगको दोस्रो खेल वर्षाले रद्द भएको थियो ।
यो समूहबाट अब बंगलादेश र नेदरल्याण्ड्समध्ये एक टिम सुपर एटमा पुग्नेछ ।

आजको खेलमा जित नजिक पुगेर पनि नेपाल एक रनले पराजित भएको हो । नेपालले मात्र १ सय १६ रनको चुनौती पछ्याइरहेको अवस्थामा नेपालले सात विकेटको क्षतिमा १ सय १४ रनमात्र बनाउन सक्यो ।

नेपालले यो खेल जितेको भए ऐतिहासिक कीर्तिमान हासिल गर्ने थियो । नेपालले दक्षिण अफ्रिकासँग पहिलो पटक खेलेको थियो ।
अन्तिम बलमा गुल्सन झा रनआउट भए । उनले एक रन लिएको भए खेल सुपर ओभरमा पुग्ने थियो । उनले डाइभ गरेको भए रन पूरा हुने थियो ।

नेपालका लागि आसिफ शेखले ४९ बलमा १ छक्का र ४ चौकाको मद्धतले ४२ रन बनाए । तेस्रो विकेटका लागि शेखसँग मिलेर ५० रनको साझेदारी गर्ने क्रममा अनिल साहले २४ बलमा एक छक्काको मद्धतले २७ रन बनाए ।

यसअघि पहिलो विकेटका लागि आसिफसँग मिलेर ३५ रनको साझेदारी गर्ने क्रममा कुशल भुर्तेलले २१ बलमा एक छक्काको मद्धतले १३ रन बनाएर आउट भएका थिए । सोमपाल कामी ४ बलमा ८ रन बनाएर अविजित रहे ।

विश्वकप इतिहासकै कान्छा कप्तान रोहित पौडेल भने २ बलमा रनको खाता नखोली आउट भएका थिए । यसअघि आसिफ शेख व्यक्तिगत १ रन बनाउँदा कागिसो रबाडाबाट क्याचआउट हुनबाट जोगिएका थिए । दक्षिण अप्रिकाका लागि ताब्रेज शाम्शीले १९ रन खर्चेर ४ विकेट लिए ।

यसअघि वेष्ट इन्डिजको किंग्सटाउनमा नेपालले टस जितेर पहिले बलिङ गर्दै दक्षिण अफ्रिकालाई १ सय १५ रनमा रोक्यो । दक्षिण अफ्रिकाले २० ओभरमा ७ विकेट गुमाएर मात्र ११५ रन बनायो । ओपनर रिजा हेन्डरिक्सले ४९ बलमा सर्वाधिक ४३ रन बनाए । त्यस्तै ट्रिस्टन स्टुब्सले १८ बलमा अविजित रहँदै २७ रन बनाए ।

नेपालका लागि कुशल भुर्तेलले १९ रन खर्चेर ४ विकेट लिए । त्यस्तै दीपेन्द्र सिंह ऐरीले २१ रन खर्चेर ३ विकेट लिए । विश्वकपमा पहिलो पटक खेल्न पाएका सन्दीप लामिछानेले १८ रन खर्चेर कुनै विकेट लिएनन् । भुर्तेलले डेभिड मिलरमाथि गरेको एलबीडब्ल्यू आउटको अपील भने अम्पायर कलिङले आउट दिएको थिएन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button