पोखरा । गण्डकी प्रदेशसभा सदस्य सरस्वती गुरुङले धादिङवासीको सामाजिक भावना प्रशंसायोग्य रहेको बताएकी छन् ।
नेपाली कांग्रेस, धादिङ-पोखरा सम्पर्क समितिद्वारा शनिबार पोखरामा आयोजित खुला रक्तदान कार्यक्रम उद्घाटन गर्दै सांसद गुरुङले यस्तो बताएकी हुन् ।
केही धादिङवासीसँग संगत गर्न पाएको उल्लेख गर्दै उनले उनीहरुको सामाजिक भावनाप्रति निकै आफू निकै प्रभावित भएको बताइन् ।
‘म राजनीतिसँगै विभिन्न पेशामा आवद्ध धादिङवासीसँग निकै नजिक छु । उनीहरुले आफ्ना बारेमामात्र सोचेको कहिल्यै पाइन । त्यसको उदाहरण यो रक्तदान कार्यक्रम हो ।’
उनले थपिन, ‘धादिङको नाम जोडिएर वर्षमा ३,४ पटक रक्तदान कार्यक्रम सम्पन्न गरेका, दुःखमा परेकालाई सहयोग गरेका, छात्रवृत्ति अक्षयकोष स्थापना गरेका समाचार सुनिरहेको, देखिरहेको हुन्छु । यस्ता गतिविधि अझै बढेर जावस् शुभकामना छ ।’
उनले रगतको विकल्प नभएकाले यस्ता गतिविधि अभियानकै रुपमा अघि बढाउन आवश्यक स्पष्ट पारिन् । धादिङवासीलाई परेको दुःखमा आफूले पनि साथ दिने उनले प्रतिवद्धता जनाइन् ।
नेपाली कांग्रेस कास्कीका सहसचिव नवीन सिग्देलले धादिङ समितिसँग आफू विगतमा पनि साथमा रहेको र आगामी दिनमा पनि प्रत्येक गतिविधिमा साथ दिने प्रतिबद्धता जनाए ।
‘धादिङवासी साथीहरु निकै इमान्दार, कर्तव्यनिष्ठ हुन्छन्, राजनीति या अन्य गतिविधिमा उहाँहरुको भूमिका निकै महत्वपूर्ण छ’, उनले भने, ‘त्यसैले धादिङवासीको साथमा कास्की कांग्रेस छ, मेरो माया, सद्भाव छ र मलाई पनि यहाँहरुको आशिर्वाद मिल्नेछ भन्ने विश्वास छ ।’
धादिङ समाजलगाायतका संघसंस्थाले रक्तदान गरेर सामाजिक र मानवीय कार्यमा निकै उत्कृष्ट योगदान दिएको उनको भनाइ छ ।
नेकपा एमाले धादिङ-पोखरा सम्पर्क मञ्चका अध्यक्ष गोकर्ण अधिकारीले सामाजिक काममा तेरो र मेरो, यो पार्टी र त्यो पार्टी भन्न नहुने बताए । उनले भने, ‘जसले गरे पनि सामाजिक काम नै हो, धादिङवासी कै सेवा हो, मानवीय सेवा हो ।’
नेपाल रेडक्रस सोसाइटी कास्की प्रादेशिक रक्तसञ्चार केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवालीले रक्तदान जत्तिको पवित्र कार्य अन्य नभएको भन्दै स्वस्थ व्यक्तिले एक वर्षमा चार पटक रक्तदान गर्न सक्ने बताए ।
कार्यक्रममा समितिका संस्थापक सभापति केदार धमला, वरिष्ठ सल्लाहकार कृष्णकुमार श्रेष्ठ, निवर्तमान सभापति लालप्रसाद पाठक, कार्यक्रम संयोजक एवं उपसभापति देवराज अर्याललगायतले रक्तदानको महत्वमाथि प्रकाश पारेका थिए ।
समिति सभापति कमलबहादुर पाण्डेको सभापतित्वमा भएको कार्यक्रममा स्वागत वरिष्ठ उपसभापति माधव लम्सालले स्वागत र सचिव श्यामबहादुर इटनीले कार्यक्रम सञ्चालन गरेका थिए ।
पहिलो रक्तदाता स्मृती इटनीलाई ब्लडव्याग हस्तान्तरण गरी उद्घाटन गरिएको कार्यक्रममा ४९ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक अर्यालले जानकारी दिए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution