घरघरको मठमा राखियो तुलसीको दल

  • पोखरा न्यूज
  • २०८१ अषाढ ४
घरघरको मठमा राखियो तुलसीको दल

पोखरा । औषधीय गुण भएको वनस्पति तुलसीलाई पूजाआराधना गर्ने प्राचीनकालदेखिको परम्परा छ । यसैअनुसार वैदिक सनातन धर्मावलम्बीले आआफ्नो घरको मठमा तुलसीको दल राखेका छन् ।

प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरको मठमा तुलसीको दल राख्ने गरिन्छ । तुलसीको दल राख्ने दिनलाई निर्जला एकादशी पनि भनिन्छ । यस दिन राखेको दलबाट बनेको बीउ एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन रोपिन्छ ।

आषाढ शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ । कार्तिक शुक्ल एकादशीका दिन तुलसीलाई हुर्काइ बढाइ दामोदरसँग विवाह गरिने भन्ने पनि बुझिन्छ ।

यो चार महिनालाई चर्तुमास भनिन्छ । भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले यी चार महिनामा विवाह, व्रतबन्ध आदि गर्नु नहुने शास्त्रीय विधि छ ।

यस अवसरमा स्नान, पूजन र दान गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । निर्जला एकादशीसमेत भनिने भएकाले यस दिन पानीसमेत नपिइ व्रत गर्नाले अभिष्ट फल पाइने शास्त्रीय वचन रहेको छ ।

सक्नेले पानी नखाइ व्रत गरे पनि नसक्नेका लागि फलफूल खाएर बस्न सकिनेछ । आयुर्वेदिक रुपमा पनि लाभकारी औषधी मानिने तुलसी विभिन्न रोगको उपचारमा समेत प्रयोग गरिन्छ ।

तुलसीमा धेरै अक्सिजन पाइने आधुनिक विज्ञानले समेत प्रमाणित गरेको छ । यही तथ्य पुष्टि भएपछि ऋषिमुनिले तुलसी रोपेर पूजा आराधना गर्ने परम्परा बसालेको शास्त्रीय वचन छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस