
पोखरा । पोखरामा फेवा एमआरआई एण्ड डायग्नोस्टिक सेन्टरले ‘थ्रीटी एमआरआई’ उपकरणबाट सेवा दिन सुरु गरेको छ ।
थ्रीटी एमआरआई उच्च प्रविधिमा आधारित रहेको र रोगको अवस्था पहिचान गर्न सजिलो हुने सेन्टरका अध्यक्ष डा मदन थापाले जानकारी दिए ।
उनका अनुसार अहिले उपलब्ध इमेजिङ प्रविधिमध्ये यो एमआरआई मेसिन सबैभन्दा शक्तिशाली हो ।
शरीरको आन्तरिक भागको तस्वीर हेर्न एमआरआई गर्ने प्रयोग गर्ने गरिन्छ । यसका लागि एमआरआईमा चुम्बक र रेडियो वेब राखिन्छ ।
थ्रीटी एमआरआईले थ्री टेस्ला म्याग्नेटिक फिल्ड उत्पन्न गर्ने शक्तिशाली चुम्बक प्रयोग गर्छ । जुन लोर फिल्ड अथवा ओपन एमआरआई स्क्यानरहरूमा भएको चुम्बकभन्दा १५ गुणा शक्तिशाली हो ।
यस्तै सामान्य एमआरआई परीक्षणको तुलनामा यस एमआरआईले एक सय गुणा चाँडो गर्न सक्ने उनले बताए । हाल काठमाडौँमा मात्रै रहेको यो सेवा पोखराबाट पनि सुरु भएको उनले बताए ।
करिब २५ करोडको लगानीमा सेवा सुरु गरिएको अध्यक्ष थापाले बताए । अहिले एमआरआईसँग भिडियो एक्सरे र एक्सरे सेवा पनि सञ्चालनमा आएको उनको भनाइ छ ।





