विश्वकप क्रिकेट : सुपर-८ मा इङल्यान्डको सानदार जीत

पोखरा । टी-२० विश्वकप क्रिकेटको बिहीबार बिहान भएको सुपर-८ चरणको खेलमा इङल्यान्ड विजयी भएको छ ।

इङल्यान्डले वेस्ट इन्डिजलाई ८ विकेटले हराएको हो । सुपर-८ अन्तर्गत इङल्यान्डको यो पहिलो जित हो ।

सुपर-८ चरणको समूह-२ मा रहेको इङल्यान्ड २ अंकसहित तालिकाको पहिलो स्थानमा छ । समान अंक जोडेको दक्षिण अफ्रिका दोस्रो स्थानमा छ ।

दक्षिण अफ्रिकाले आयोजक अमेरिकालाई १८ रनले हराएको थियो । पहिलो खेलमा पराजित भएका वेस्ट इन्डिज र अमेरिका क्रमशः तेस्रो र चौथो स्थानमा आसीन छन् ।

टस हारेर पहिले ब्याटिङ गरेको वेस्टइन्डिजले पूरै ओभर खेलेर चार विकेटको क्षतिमा १८० रन बनाएको थियो ।

१८१ रनको लक्ष्यका साथ जवाफी ब्याटिङ गर्दै इङल्यान्डले भने १७ दशमलव३ ओभरमा २ विकेट गुमाएर लक्ष्य हासिल गर्यो ।

इङल्यान्डको जितमा ओपनर फिल साल्टले अविजित ८७ रनको योगदान गरे । उनले केवल ४७ बलको सामना गरी ५ छक्का र ७ चौका पनि प्रहार गरे । अर्का ओपनर जस बट्लरले पनि २५ रन बनाए ।

कप्तान बट्लरले २२ बलमा दुई चौका प्रहार गरे । ओपनिङ विकेटका लागि साल्ट र बट्लरले ६७ रनको साझेदारी गरे ।

चौथो नम्बरका ब्याट्सम्यान जोनी बेयरस्टोले पनि अवीजित ४८ रन बनाए । उनले २६ बलको सामना गरी २ छक्का र ५ चौका हिर्काए ।

मोइन अलीले  १३ रन जाेडे । बलर आन्द्रे रसेल र रोस्टन चेजले १-१ विकेट हात पारे ।

त्यसअघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजका लागि ओपनर जोन्सन चाल्र्सले सर्वाधिक ३८ रन बनाएका थिए ।

निकोलस पुरन र कप्तान रोभपन पोवेलले ३६-३६ रन बटुले । सेरफन रुथरफोर्ड २८ रनमा अविजित रहे । ओपनर ब्रान्डन किङले २३ रन बनाए ।

इङल्यान्डका जोफ्रा आर्चर, अदिल रसिद, मोइन अली र लियाम लिभिङ्स्टोनले १-१ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button