
पोखरा । आगामी शनिबारसम्म गण्डकी र कोशी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ ।
महाशाखाले भारी वर्षासँगै विभिन्न विपद्का घटना हुन सक्ने भन्दे सतर्कता अपनाउन आग्रह गरेको छ ।
माहाशाखाका अनुसार आगामी आइतबारसम्म देशभर मनसुन फैलिने सम्भावना रहेकोले वर्षा र झरीको सम्भावना रहेको जनाएको छ ।
बिहीबारसम्म मनसुन मुलुकको पूर्वी भूभाग हुँदै लुम्बिनी प्रदेशसम्म पुगेको महाशाले जनाएको छ । समान्यतया जुन १३ मा मनसुन नेपाल भित्रिने भए पनि यसवर्ष जुन १० मा मनसुन मुलुकको पूर्व क्षेत्रबाट भित्रिन सुरु गरेको थियो ।
पश्चिमी वायुको प्रभावका कारण सुदूरपश्चिम तथा मुलुकको पश्चिमी क्षेत्रमा मनसुन फैलिन समय लागिरहेको महाशाखाकी मौसमविद् प्रतिमा मानन्धरले जानकारी दिइन् ।
नेपालमा १० दिन भयो मनसुन सुरु भएको तर अझै पनि पश्चिम र सुदूरपश्चिम क्षेत्रसम्म पुग्न सकिरहेको छैन । मानन्धरका अनुसार आइतबारसम्म मुलुकभर मनसुन फैलिएपछि तातो हावाको लहरको जोखिम विस्तारै हट्दै जानेछ ।
उनका अनुसार अघिल्लो वर्ष नेपालमा मनसुन भित्रिएको तीन सातापछि मात्रै देशभर फैलिएको थियो ।
माहाशाखाका अनुसार हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।





