क्रिकेट विश्वकप : भारतद्वारा अफगानिस्तानसामु १८२ रनको चुनौती

पोखरा । उपाधि दावेदार भारतले अफगानिस्तानसामु १८२ रनको चुनौती प्रस्तुत गरेको छ । टी-२० विश्वकप क्रिकेटअन्तर्गत सुपर ८ को समूह ए को पहिलो खेलमा अफगानिस्तानले जीतका लागि १८२ रनको लक्ष्य पाएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १८१ रन बनाएको हो ।

खेलको तेस्रो ओभरमा नै कप्तान रोहित शर्मा ८ रन बनाएर आउट भएका थिए । त्यसपछि ऋषभ पन्त र विराट कोहलीले २५ बलमा ४३ रनको साझेदारी गरे । कोहलीले २४ बलमा २४ रन बनाए भने पन्तले ११ बलमा ४ चौकाका साथ २० रन जोडे ।

सूर्यकुमार यादवले भने विस्फोटक ब्याटिङ गरे । उनले २८ बलमा ५३ रन जोडे । उनले ५ चौका र ३ छक्का प्रहार गरे । यादवले हार्दिक पाण्ड्यासँग मिलेर ३७ बलमा ६० रन जोडे ।

हार्दिकले २४ बलमा ३२ रनको योगदान दिए । उनले ३ चौका र २ छक्का हाले । अक्षर पटेलले १२ रन बनाए भने शिवम् दुवेले ७ बलमा १० रन जोडे ।

अफगानिस्तानका लागि फजलहल फारुकी र रासिद खानले ३–३ विकेट लिए । फारुकीले ४ ओभर बलिङ गर्दै ३३ रन खर्चिए । उनी यो विश्वकपमा सर्वाधिक विकेट खेलाडी पनि हुन् । कप्तान खानले ४ ओभरमा २६ रनमात्र दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button