
पोखरा । क्षत्री समाज नेपाल केन्द्रीय कोषाध्यक्ष एवं क्षत्री समाज नेपाल, कास्कीका पूर्वअध्यक्ष पदमबहादुर कार्कीको निधन भएको छ ।
उनको उपचारका क्रममा बिहीबार काठमाडौँमा निधन भएको हाे । कार्कीको पार्थिव शरीर आज पोखरा ल्याइने बताइएको छ । उनका छोरा विदेशमा रहेका कारण अन्तिम संस्कार भने केही दिन पछि हुने बताइन्छ ।
पोखरा लामाचौर निवासी उनको परिवारमा आमा, श्रीमती, एक छोरा, चार छोरी, छ दाजुभाइ छन् ।
कार्की निर्माण व्यवसायी, धार्मिक, शैक्षिक एवं सामाजिक व्यक्तित्वका रुपमा परिचित थिए ।
उनको निधनप्रति पोखरा महानगर प्रमुख धनराज आचार्यले दुःख व्यक्त गरेका छन् ।
यस्तै, क्षत्री समाज नेपालका महासचिव कृष्णबहादुर थापाले शोक विज्ञप्ति जारी गरी कार्कीको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
उनको निधनमा क्षत्री समाजका केन्द्रीय समिति र सम्पूर्ण जिल्ला समितिले पाँच दिन शोक मनाउने भएका छन् ।





