
पोखरा । नेपाल स्केटबोर्ड संघको आयोजनामा पोखरामा शुक्रबार ११औँ जिल्ला स्तरीय खुल्ला स्केटबोर्ड प्रतियोगिता भएको छ ।
विश्व स्केटबोर्ड दिवसको अवसरमा आयोजित प्रतियोगितामा समीर भण्डारी प्रथम भए । सुमीत गुरुङ द्वितीय र अनिश गुरुङ तृतीय भएको प्रतियोगिता संयोजक तारानाथ अधिकारीले जानकारी दिए ।
प्रथम भएका समीरले स्केटसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । द्वितीय भएका सुमीतले स्केट ट्रक र तृतीय बनेका अनिसले सेफ्टी प्याडसहित मेडल र प्रमाणपत्र हात पारे ।
प्रतियोगिता संयोजक अधिकारीका अनुसार स्केटबोर्ड ट्रिक्समा पेम्थिलिङ शेर्पा प्रथम, अनिश गुरुङ द्वितीय र सुमीत गुरुङ तृतीय भए ।
स्केट बिएमएक्स साइकल प्रतियोगितामा निशान राना प्रथम र सुरज विक द्वितीय बने । उनीहरुसँगै प्रतियोगितामा कम उमेरका सहभागी श्रवण कोइरालालाई मेडल र प्रमाणपत्र प्रदान गरिएको संयोजक अधिकारीले जानकारी दिए । प्रतियोगितामा १३ जना खेलाडीले सहभागिता जनाएका थिए ।
विजेता खेलाडीलाई पर्यटन व्यावसायी तथा पूर्व बक्सिङ खेलाडी गणेशबहादुर भट्टराई, नेपाल स्केट बोर्ड संघका अध्यक्ष रामचन्द्र कोइराला, वरिष्ठ उपाध्यक्ष सुनिल क्षेत्री, उपाध्यक्ष विश्वराज पौडेललगायतले पुरस्कार वितरण गरेका थिए ।
पर्यटन व्यावसायी तथा पूर्व बक्सिङ खेलाडी भट्टराईले खेलकुद सहरको गहना भएको बताए ।
‘खेलकुद सहरको गहना हो । जुन सिटीमा खेलकुद हुन्छ भने त्यो समृद्ध सिटी हो,’ उनले भने, ‘अनि विश्वमा नेपाल चिनाएको एउटा हिमालले हो अर्को भनेको खेलकुदले नै हो ।’
नेपाल स्केट बोर्ड संघका अध्यक्ष रामचन्द्र कोइराला, कार्यक्रम संयोजक तारानाथ अधिकारी, जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिव सुनबहादुर लामालगायतले स्केटबोर्ड खेल विकासका लागि सरकारले लगानी थप्नुपर्नेमा जोड दिए ।





